जिल्ला प्रहरी कार्यालय सप्तरीको नयाँ नेतृत्वका लागि भर्खरै सरुवा भई आएका प्रहरी उपरीक्षक गौतम केसीले सीमा नाकामा हुने अवैध चोरी तस्करी नियन्त्रणमा कसैसित सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन् ।
शुक्रबार सप्तरी उद्योग बाणिज्य संघले आयोजना गरेको स्वागत कार्यक्रममा मन्तव्य राख्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले यसका लागि सबै पक्षबाट सहयोग पाउने विश्वास पनि व्यक्त गरे । हो, तस्करी नियन्त्रणका लागि प्रहरी मात्रको एकल प्रयासले सम्भव हुँदैन । यसमा ब्यापारी व्यवसायी सहित सम्बन्धित सबैको सहयोग अपेक्षित रहन्छ । बढ्दो तस्करकिा कारणले नै सदरमुकाम राजविराजदेखि अन्य बजारहरु समेत सुक्दै गएका छन् । सप्तरी उद्योग बाणिज्य संघका प्रतिनिधि मण्डलले प्रमुख जिल्ला अधिकारीलाई भेटेरै यो समस्या बारे अवगत गराईसकेका छन् । भन्सार चोरी गरेर भारततर्फबाट सामान ढुवानी गर्ने गिरोहको सप्तरीमा सक्रियता निकै बढेको छ । बजारका ब्यापारीले तस्करी गरेर ल्याएको मालसामान नकिनिदिने हो भने यो धन्दा आफै निष्तेज भएर जानेमा शंका रहन्न ।
तस्करसित लिएको भन्दा भन्सार तिरेर भित्र्याईएको सामानको लागत मूल्य बढी रहने भएका कारण प्रतिष्पर्धामा टिक्ने अवस्था रहन्न । यसले गर्दा भन्सार तिर्नेहरुको व्यापार सुक्दै जाने भएका कारणले पनि तस्करीमाथि कडाईका साथ नियन्त्रणको आवश्यकता छ । यसका लागि स्वयम् व्यापारीहरुको पनि सहयोगी भूमिका रहनु पर्ने कुरालाई नकार्न सकिन्न ।