न्यूज टुडे
राजविराज, २४ वैशाख ।
कोशी प्रदेशमा तीन महिनाको अवधिमा प्रहरी ब्यारेक र जिल्ला कारागारमा गरी ६ जनाको मृत्यु भएको छ ।
इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले सन् २०२५ को जनवरीदेखि मार्चसम्मको मानव अधिकार अवस्थाका विषयमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार झापा, मोरङ र सुनसरीमा रहेका कारागार र व्यारेकमा गरी ६ जनाको मृत्यु भएको हो ।
बितेको तीन महिनामा कोशी प्रदेशको मानव अधिकारलाई विश्लेषण गर्ने हो भने मानिसको सबै भन्दा ठूलो अधिकार बाँच्न पाउने अधिकारबाट १२ जना नागरिक विमुख भएको इन्सेक प्रदेश संयोजक मनोहर पोखरेलले बताए । पोखरेलका अनुसार प्रहरी ब्यारेकभित्र एक जना सइसहित राज्यको नियन्त्रणमा भएका ६ जना नागरिकले यस अवधिमा ज्यान गुमाउनु परेको छ । अन्य पक्षबाट ६ जनाको हत्या गरिएको छ । यस अवधिमा एक जनालाई जिउँदै जलाएर हत्याको प्रयास गरिएको छ ।
इन्सेकको अभिलेखअनुसार ०८१ पुस १६ गतेदेखि चैत १८ गतेसम्मको अवधिमा जिल्ला प्रहरी कार्यालय झापाको व्यारेकभित्र र कारागारमा गरी दुई जनाको मृत्यु भएको छ । जिल्ला कारागार मोरङका तीन जना र सुनसरी झुम्का कारागारमा एक जना गरी चार जनाको मृत्यु भएको इन्सेकले सार्वजनिक गरेको स्थिती सूचकमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय झापाको ब्यारेमा कानेपोखरी गाउँपालिका ७ का ४९ वर्षीय सइ धनराज खतिवडाको फागुन ४ गते झुण्डिएर मृत्यु भएको र जिल्ला कारागार झापामा भद्रपुर नगरपालिका १ का ४० वर्षीय मदन सिलवालको माघ २९ गते मृत्यु भएको इन्सेकको स्थितीसूचकमा उल्लेख छ ।
जिल्ला कारागार मोरङमा रहेका बेलवारी नगरपालिका(४ का ६७ वर्षीय अम्मरबहादुर राइको पुस २० गते, पथरी शनिश्चरे नगरपालिका(४ का जेठा भनिने जितबहादुर देवानको चैत १ गते र रतुवामाई नगरपालिका ५ का २९ वर्षीय किसन टुडुको माघ २९ गते मृत्यु भएको इन्सेकको अभिलेखमा छ ।
तीन महिनाको अवधिमा ताप्लेजुङको पाथीभरा मुकुम्लुङ क्षेत्रमा भएको आन्दोलनमा प्रहरीले सात जना महिला र ४२ जना पुरूष गरी ४९ जनालाई गिरफ्तार गरेको छ । सो अवधिमा राज्य पक्षबाट भएका कुटपिटका घटनामा चार जना पुरूष घाइते भएका छन् ।
तीन महिनाको अवधिमा कोशी प्रदेशमा राज्य पक्षबाट भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ५९ जना र अन्य पक्षबाट भएका मानव अधिकारविरूद्धका घटनामा ३ सय १६ जना गरी कूल ३ सय ७५ जना पीडित भएको इन्सेक कोशीले जनाएको छ ।
अन्य पक्षबाट भएका घटनामा घाइते पुरूष ३०, कुटपिट महिला दुई र पुरूष सात गरी नौ, अमानवीय व्यवहार घटनामा दुई जना पुरूष, हत्याका घटना दुई जना महिला र दुई जना पुरूष गरी चार, अपहरण घटनामा एक जना महिला, धम्कीका घटनामा एक जना पुरूष, बाल अधिकारविरूद्धका घटनामा ४१ जना र महिला अधिकारविरूद्धका घटनामा २ सय २८ गरी कुल ३ सय १६ जना पीडित भएका छन् ।
इन्सेक अभिलेखका आधारमा तीन महिनाको अवधिमा २९ जना बालिका बलात्कार र १२ जना बालिका यौन दुव्र्यवहारका घटनामा पीडित भएका छन् ।
महिला अधिकारविरूद्धका घटनामा बलात्कार २६, बलात्कार प्रयास एक, यौन दुव्र्यवहार एक, परिवारजनबाट हत्या दुई, यौनजन्य साइवर अपराध एक र घरेलु हिंसामा १ सय ९७ गरी २ सय २८ जना महिला पीडित भएका छन् ।
प्रदेश संयोजक पोखरेलले मानव अधिकारको संरक्षण र प्रबर्द्धन गर्ने मुख्य दायित्व राज्यको भएकोले मानव अधिकारका सम्वन्धमा राज्य सम्वेदनशील हुनु पर्ने बताए । मानव अधिकार संरक्षण र सम्बर्द्धनका निम्ति राज्यले ठोस, प्रभावकारी र हस्तक्षेपकारी नीति तथा कार्यक्रमहरू अवलम्वन गर्न इन्सेकको अभिलेखले सहयोग पुग्ने बताए ।