सप्तरीको छिन्नमस्ता गाउँपालिका बालविवाह मुक्त घोषणा भएका छन् । गाउँपालिकाद्वारा छिन्नमस्ता मन्दिर प्राङ्गणमा आइतबार आयोजित एक समारोहका वीच मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले छिन्नमस्ता गाउँपालिकालाई मधेश प्रदेशकै तेश्रो बालविवाह मुक्त घोषणा गरेका हुन् ।
पानसमा वत्तीबालेर कार्यक्रम उद्घाटन गर्दै मुख्यमन्त्री सिंह । फोटो : न्यूज टुडे
गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री सिंहले तुल व्यानर वाचन गरि छिन्नमस्ता गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गरे ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले मधेस प्रदेशकै तेस्रो बालविवाह मुक्त पालिका घोषणा गर्न सफल भएको भन्दै प्रशंसा व्यक्त गरे । सरकारको गौरवपुर्ण अभियान सफल गर्न योगदान गरेको भन्दै जनप्रतिनिधि, कर्मचारी, सहयोगी संस्थासंस्थालाई धन्यवाद दिदै उनले बालविवाह मुक्त गाउँपालिका कानूनी तथा व्यवहारिक रुपमा पूर्ण कार्यान्वयनमा जोड दिए ।
घोषणा समारोहमा मञ्चासीन प्रमुख अतिथि मुख्यमन्त्री सिंहसहित अतिथिगण । फोटो : न्यूज टुडे
घोषणा गर्न सहज देखीएपनि कार्यान्वयनमा कानूनी जटिलता आउन सक्नेप्रति शंका व्यक्त गर्दै मुख्यमन्त्री सिंहले यसलाई दृढताकोसाथ लागू गर्न आग्रह गरे ।
नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सल्लाहकार अवधेश कुमार झाले छिन्नमस्ता गाउँपालिका बालविवाह मुक्त घोषणा भएकोप्रति खुसी व्यक्त गर्दै २० बर्षमुनी उमेर समुहका विवाह भोजलगायतका कार्यक्रमहरुमा गाउँपालिकाबासी सहभागी नहुँने आजै प्रतिबद्धता गर्नुपर्नेमा जोड दिए ।
बालविवाह मुक्त घोषणा समारोहमा सहभागीहरु । फोटो : न्यूज टुडे
सेभ द सप्तरीका अध्यक्ष एवम् गैसस महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ध्रुव देवले गाउँपालिकाले ऎतिहासिक सफलता हाँसिल गरेको भन्दै चालू आव मा २२ करोड सहयोग गर्ने उद्घोष गरे ।
सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले बालविवाह गर्ने र गराउने दुबैलाई कानूनी सजाय हुने बताए । उनले बालविवाह गराउने अभिभावकलाई ३ बर्ष कैद र ३० हजार जरिवाना र गर्न सहयोग गर्नलाई आधा सजाय हुने कानूनी व्यवस्था रहेको बताए ।
बालविवाह मुक्त घोषणा समारोह नृत्य प्रस्तुत गर्दै स्थानीय बालिकाहरु । फोटो : न्यूज टुडे
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राजुदेवी यादव, सेभ द चिल्ड्रेनका एसवीर सारु मगर, वडा नम्बर ७ का अध्यक्ष अक्षेलाल यादव, छिन्नमस्ता मन्दिरका पिठाधीश माहाकन्त ठाकुरलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
स्थानीय युवा नेताद्वोय रवि राय र बब्लु चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत छिन्नमस्ता गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष विजय यादवले गरे ।
कार्यक्रममा बालविवाह मुक्त गाउँपालिका घोषणा गर्न योगदान गर्ने जनप्रतिनिधि, सहयोगी संस्थाका प्रतिनिधि, कर्मचारी लगायतका दर्जनौं व्यक्तिलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान समेत गरिएको थिए ।