• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
कठौना-पातो सडकखण्डमा चक्काजाम
न्यूज टुडे
राजविराज, ०२ पुस । 
कठौना-पातो भित्री सडकखण्ड अन्तर्गत सप्तरीको डाक्नेश्वी नगरपालिका ७ मझौरामा मंगलबार चक्काचाम गरिएको छ । सडक निर्माण कार्य अलपत्र हुँदा धुलो उडेर समस्यामा परेका आक्रोशित स्थानीयबासीले विहान ९ बजेदेखि सडक अवरुद्ध गरेको हो ।
स्थानीयले सडकमा बाँस तेर्साएर सडक अवरुद्ध गरेपछि उक्त मार्ग भएर चल्ने सवारी साधन बाटैमा रोकिएको छ । सडक अवरुद्ध हुँदा सयौंको संख्यामा यात्रुहरुले सास्ती खेप्न बाध्य भएका छन् । 
धुलो नियन्त्रणका लागि नगरपालिका र निर्माण कम्पनीसंग पटकपटक आग्रह गर्दा समेत सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको स्थानीयले बताए । उनीहरुले धुलो नियन्त्रण गरी सडक निर्माण कार्यलाई अगाडि नबढाएसम्म चक्काजाम जारी राख्ने चेतावनी दिए । 
पूर्व प्रदेश सभा सदस्य विदेश्वर कुमार यादव (विक्की) ले धुलोका कारण जनजीवन प्रभावित हुँदा समेत सरोकारवाला निकाय गम्भीर नदेखिएको भन्दै आपत्ति व्यक्त गरेका छन् । उनले नगरप्रमुख, प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य तथा स्थानीय प्रशासनिक निकाय किन मौन छ ? भन्दै प्रश्न समेत गरेका छन् । 
‘पतो कठौना सडकखण्ड निर्माण अलपत्र परेपछि सडकबाट  उड्ने धुलोले स्थानीय बिमार पर्न थालेपछि डाकनेश्वरी नपा वडा नं -७ मझोउरा गाउँबासीद्वारा सडक जाम गरी बिरोध प्रदर्शनमा उत्रिएका छन्’, आफ्नो फेसबुक पेजमा लेख्दै उनले भनेका छन्, ‘ठेकेदार, प्रशासन र जनप्रतिनिधिको अत्तोपत्तो छैन। सडकमा पानी पटाउनु पर्ने हो तर ठेकेदारले कुनै मतलब राखेको दैखिदैन।’
सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ (ख)का पूर्व प्रदेश साँसद यादवले स्थानीयबासीको समस्या समाधानमा गम्भीर हुन सम्बन्धि पक्षसंग जोडदार माग समेत गरेका छन् ।