सप्तरीको राजविराजमा छैठौं संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिग सुरु भएको छ। पब्लिक विन्देश्वरी क्रिकेट मैदानमा शुक्रबार आयोजित प्रतियोगिताको राजविराज नगरपालिकाकी कार्यबाहक नगरप्रमुख इसरत परविनले उद्घाटन गरेकी हुन् ।
उद्घाटन खेलमा छिन्नमस्ता लायन्सले कन्चनरुप राइनोजलाई २२ रनले पराजित गर्दै जित सुरुवात गरेको छ ।
सप्तरी प्रिमियर कप उद्घाटन समारोहमा सहभागी राजविराज नगरपालिकाकी कार्यबाहक नगरप्रमुख परविनसहित अतिथिगण । फोटो : न्यूज टुडे
छिन्नमस्ताले दिएको १८८ रनको विशाल लक्ष्य पछ्याएको कन्चनरुपले १९.४ ओभरमा १६५ रन मात्रै बनाएर सबै विकेट गुमायो। कन्चनरुपका लागि राशिद खानले सर्वाधिक ४७ रनको योगदान गरे पनि जितका लागि पर्याप्त रहेन। उनले २९ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका थिए।
यसैगरी, दिनेश अधिकारीले २० बलमा १ चौका र ४ छक्कासहित ३१ रन बनाउँदा अभिषेक गौतम र चित्रबहादुर बिस्टले समान २३ रन बनाए। लक्ष्य पछ्याउने क्रममा ५९ रनमा ७ विकेट गुमाएको अवस्थामा राशिद र दिनेशले ५६ रनको साझेदारी गरेता पनि जितको लागि पर्याप्त रहेन।
छिन्नमस्ताको बलिङमा विशाल पटेलले सर्वाधिक ४ विकेट लिए। प्लेयर अफ द म्याच घोषित पटेलले ४ ओभरमा १३ रनमात्रै खर्चेर चार विकेट हात पारेका हुन्। यसैगरी मोहम्मद सोहेलले ३, सुमित नेवारले २ तथा फिर्दोश अन्सारीले १ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको छिन्नमस्ता लायन्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८७ रनको योगफल तयार गरेको थियो। छिन्नमस्ताका सुमित नेवारले आक्रामक ब्याटिङ गर्दै १८ बलमा ३ चौका र ४ छक्काको मद्दतले ४३ रन बनाए।
राष्ट्रिय टोलीमा समेत रहेका भिम सार्कीले १६ बलमा ३० रनको योगदान गरे। उनले ४ चौका र १ छक्का प्रहार गरेका थिए। यस्तै, राज वर्माले २३ बलमा २६ रन, विशाल पटेलले १० बलमा १९ रन तथा रोहन विकले १४ बलमा १८ रन जोडे।
कन्चनरुप राइनोजको बलिङमामा उमेश कुमार चौधरी र राहुल मण्डलले समान ३–३ विकेट लिए। उमेशले ४ ओभरमा २८ रन तथा राहुलले ४ ओभरमा ३७ रन खर्चिए। राशिद खान र दिनेश अधिकारीले १–१ विकेट लिए।
प्रतियोगिता अन्तर्गत शनिवार दुई खेल हुनेछन्। विहान ९ बजे सुरु हुने पहिलो खेल बलान बिहुल सुपर किंग्स र राजविराज राजदेवी ११ तथा दिउँसो १ बजे हुने दोश्रो खेलमा तिरहुत टाइगर्स र सनराइज एघार तिलाठी कोइलाडी विच प्रतिस्पर्धा हुने सप्तरी क्रीकेट संघका सचिब चन्दन यादवले जानकारी दिए ।
यस अघि आयोजित उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, संचारकर्मी, क्रीकेट खेलप्रमीहरुको उपस्थिति रहेको थियो ।