• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

प्रतिष्ठान निर्माणमा दवाव दिनका लागि हस्ताक्षर संकलन

प्रतिष्ठान निर्माणमा दवाव दिनका लागि हस्ताक्षर संकलन
न्यूज टुडे
राजविराज, २० मंसिर ।
रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण कार्य  सुचारु गर्न दवावका लागि राजविराजमा बुधबार हस्ताक्षर संकलन थालिएको छ ।  प्रतिष्ठान निर्माण कार्य अविलम्ब सुरु गर्नुपर्ने माग गर्दै आन्दोलित सप्तरी युथ नेपालले सात दिने हस्ताक्षर अभियान थालेका हुन् ।
हस्ताक्षर अभियान सुभाराम्भ कार्यक्रममा सहभागी सप्तरी युथ आवद्ध युवाहरु । फोटो:न्यूज टुडे
अभियानको राजविराज नगरपालिकाका प्रबक्ता एवम् वडा नम्बर ८ का अध्यक्ष जय नारायण मण्डलले पहिलो हस्ताक्षर गरेर सुरु गरे ।
दोश्रो चरणको आन्दोलन अन्तर्गत सात दिने हस्ताक्षर अभियान थालिएको सप्तरी युथ नेपालका कार्यबाहक अध्यक्ष मोहन कुमार यादवले बताए । पहिलो चरणको शान्तिपूर्ण आन्दोलनबाट सुनुवाइ नभएपछि दोश्रो चरणको संघर्षका कार्यक्रम सुरु गरेको उनले जानकारी दिए । ” हामीले दोश्रो चरणमा सात दिने हस्ताक्षर अभियान सुरु गरेका छौं, उनले भने, राजविराज नगरपालिकाका प्रवक्ता समेत रहेका वडा अध्यक्ष जयनारायण मण्डलले हस्ताक्षर गरेपछि अभियानको सुभारम्भ भएको छ ।”
अभियान अन्तर्गत बुधवार दिउँसोसम्म मात्रै हजारभन्दा बढी व्यक्तिको हस्ताक्षर संकलन भइसकेको आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवले बताए । “प्रतिष्ठान निर्माणले सप्तरीको मात्रै होइन, मधेशकै विकास र समृद्धिमा टेवा पुग्नेछ’ उनले भने, ‘त्यसैले हाम्रो हस्ताक्षर अभियानमा सर्वसाधारणदेखि समाजसेवि, जनप्रतिनिधि, नागरिक अगुवा, कर्मचारी, राजनितिकर्मी, सञ्चारकर्मी लगायतकाले स्वस्फुर्त रुपमा सघाइरहेका छन् ।”
 आन्दोलनका कार्यक्रम अन्तर्गत सात दिनमा १० हजार हस्ताक्षर संकलन गर्ने र त्यसपछि ९ सय ९९ वटा चिठ्ठी प्रधानमन्त्रीका लागि पठाइने भएको छ ।  सप्तरी युथले मंसिर १० गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएर पहिलो चरणको आन्दोलन सुरु गरेका थिए ।
०७५ सालमा मन्त्रिपरिषद् बैठकले जिल्लाको राजविराज नगरपालिका– १० बिरौलस्थित प्रतिष्ठान निर्माण गर्ने निर्णयपछि २२ असार ०७८ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिष्ठानको शिलान्यास गरेका थिए । तर, अहिलेसम्म डिपीआर निर्माणबाहेक अन्य काम भएको छैन् ।
सोही विषयलाई लिएर राजविराज १० स्थित प्रतिष्ठान निर्माण स्थलमा स्थानीयहरुले डेढ महिनादेखि रिले अनशन जारी राखेका छन्  ।