• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राजविराज नगरपालिकाले सार्वजनिक स्थलमा भईरहेको अतिक्रमणलाई खाली गरिदिन भनि पटक पटक सूचना जारी गर्दै आएको छ । तर पनि जसले यसरी अतिक्रमण गरी बसेको हो, उसले यस बारे टेरपुच्छर लगाएको देखिँदैन । नगरपालिका सूचना त जारी गर्छ तर सम्बन्धित पक्षले त्यसको पालना नगर्दा पनि केही फरक नपरिरहेको अवस्था छ । सूचनाको अवज्ञा गर्दा पनि त्यस्तामाथि आफूले पाएको अधिकार प्रयोग गरी अतिक्रमित स्थानलाई खाली गराउनमा नगरपालिकाले चासो नलिएका कारणले नै यसरी अटेरी गर्ने प्रबृत्ति हावी भएको मान्न सकिन्छ ।
स्थानीय सरकारकै रुपमा रहेका स्थानीय तहहरु अधिकारसम्पन्न पनि छन् । तर पनि त्यसको प्रयोग गर्ने तर्फ यो निकायले चासो नलिएका कारण नै सार्वजनिक स्थलहरु अतिक्रमणका शिकार बन्ने गरेको अवस्था छ । नगरका सडक, गल्ली व्यक्तिगत रुपमा प्रयोग गर्ने,नालामा लगेर फोहर मिल्काउने,सडक पेटीमा पसल थाप्ने, जथाभावी पार्किंग गर्ने जस्ता विकृति एक से एक अतिक्रमणका नमूना हुन् । सार्वजनिक स्थललाई कुनै व्यक्तिको स्वार्थकालागि अतिक्रमण गरेर राखिरहन मिल्दैन । यसले एक त नगरपालिका क्षेत्रकै अवस्था अस्तव्यस्त तुल्याउँछ भने यसका साथै सर्वसाधारणलाई पनि समस्या पर्न जान्छ । सार्वजनिक स्थलको संरक्षणको जिम्मा पनि स्थानीय तहहरुले नै पाएका कारण यो जिम्मेवारी पूरा गर्नकालागि पनि उनीहरुले आफ्नो अधिकारको प्रयोग गरेर ती स्थललाई खुला तुल्याउनेतिर लाग्नु पर्ने आवश्यकता छ ।
नगर क्षेत्रमा बढ्दै छाडा चौपायाको रजाइँका कारणले मेनरोड समेत अस्तव्यस्त बन्ने गरेको छ । नगरपालिकाले यस तर्फ पनि आवश्यक कदम चाल्न आवश्यक छ ।