• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरीको राजगढ नर्घो स्थित जनता शंकर माध्यमिक विद्यालयमा केही दिन यता निकै विवाद चर्केको छ । द्वितीय श्रेणीका निमित्त प्रधानाध्यापकलाई धपाउन उक्त दरबन्दी नै कटौति गरी तृतीय श्रेणीकालाई निमित्त प्रधानाध्यापक बनाउने नियतकासाथ यस्तो कार्य गरिएको भन्दै विद्यालयका जग्गादाता र विद्यार्थीहरु नै विरोधमा छन् ।

हाल कार्यरत द्वितीय श्रेणीका निमित्त प्रधानाध्यापकको दरबन्दी नै कटौती गरेर निजलाई एक प्रस्तावित माविमा सरुवा गरेपछि आन्दोलनमा उत्रेका विद्यार्थीहरुले बिहीबार विद्यालयमा तालाबन्दी समेत गरेका छन् । उसैपनि विद्यालयको हित र स्तरोन्नति चाहेमा मात्र त्यहाँ शिक्षाको स्तर पनि उकासिएर जान्छ भन्ने मान्यता छ । विद्यालयको स्तर उकास्नका लागि त अझै माथिल्लो तहको प्रधानाध्यापक ल्याउन सकेमा त्यसले विद्यार्थीलाई पनि लाभ पुग्ने अनि त्यस्तो विद्यालयको प्रतिष्ठा पनि अझै बढेर जाने सम्भावना रहन्छ । तर माथिल्लो तहको दरबन्दी नै काटेर तल्लो तहको व्यक्तिलाई प्रधानाध्यापक बनाउन चाहनु पछिको खेल रहस्यमय बनेको अवस्था छ । उन्नतिको साटो अवनतिको बाटो रोजेर त्यसले के फाईदा मिल्ला? सोच्नुपर्ने विषय हो यो । प्रधानाध्यापकको दरबन्दी नै कटौति गरी निजलाई अन्यत्र सरुवा गरिएपछि विद्यालयमा विवाद बढेको छ । मामिला तालाबन्दीमा पुगिसकेपछि यसले पठनपाठन प्रभावित हुने त निश्चित नै छ । यस्तो अवस्थालाई कायमै राखेर बस्ने हो भने बालबालिकाको भविष्य नै चौपट नबन्ला भन्न सकिन्न ।

त्यसैले बालबालिकाको भविष्य हेरेर आफ्ना निहित स्वार्थका लागि भईरहेको यस प्रकारको अनपेक्षित चलखेल बन्द गरिनु पर्ने आवश्यकता छ । व्यक्तिको स्वार्थ होईन विद्यालयको पठनपाठन मुख्य आवश्यकता रहेका कारण विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक, विद्यार्थी लगायत सरोकारवाला सबैले पठनपाठन सुचारुको वातावरण बनाउन आवश्यक छ ।