न्यूज टुडे
राजविराज, २५ असोज ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका र रुपनी गाउँपालिकाका कर्मचारीहरुले ४ महिना वितिसक्दा पनि तलव नपाएको गुनासो गरेका छन् । समयमा नगर तथा गाउँसभा हुन नसक्दा लामो समयदेखी तलव नपाएर दशै मान्न पनि सकस हुने चिन्ताले उनीहरु पिरोलिएका हुन् ।
दशैमा पनि तलव नपाउने छाटकाट देखिएकाले वाल वच्चालाई कसरी हात मुख जोड्ने भन्ने चिन्ताले पिरोलेको हनुमाननगर कंकालिनी नगरपालिकाका एक कर्मचारीले बताए ।

जनप्रतिनिधिहरु विचको खिच्चातानीले अहिलेसम्म नगरसभा गर्न सकेको छैन, उनले भने, यसको प्रत्यक्षमार हामी कर्मचारीहरुले खेप्नु परेको छ, नगरसभा नहुँदा असारदेखिको तलव रोकिएको छ । नगर सभा नहुनुमा हाम्रो के दोष ? उनले प्रश्न गरे ।
नगरसभा नहुँदा हनुमाननगर कंकालिनी नगरपालिका अन्तर्गतका १४ वटै वडाका गरि ५ सयभन्दा बढी कर्मचारी तलव सुविधाबाट बन्चित भएको उनले बताए ।
यसैगरी रुपनी गाउँपालिकाको ६ वटै वडा कार्यालय, विद्यालयका शिक्षक तथा विभिन्न शाखामा कार्यरत २ सय ५० भन्दा बढी कर्मचारीले गाउँसभा नभएकाले असारदेखि तलव नपाएको बताएका छन् । गाउँसभा हुने अबस्था पनि नदेखिएकोले दशैमा समेत तलव नपाउने चिन्ता बढेको उनीहरु बताउछन् ।
आर्थिक नियमावली अनुसार पालिकाले सभा मार्फत बर्ष भरीका बजेट, नीति तथा कार्यक्रम कार्यपालिकाबाट अनुमोदन गरेपछि मात्र खर्च गर्नुपर्ने प्रावधान रहेकाले रुपनी गाउँपालिकामा अहिलेसम्म गाउँसभा नहुँदा बजेट खर्च गर्न नपाउने अवस्था आएको हो ।।
वजेट संचालनका लागि पालिकाले असार १० भित्र सभा गर्नु पर्ने प्रावधान भएपनि रुपनी गाउँपालिकामा हाल सम्म गाउँसभा हुने कुनै छलफल खासै नभएको रुपनी गाउँपालिका ६ का वडा अध्यक्ष बद्री नारायण सरदारले बताए ।
रुपनी गाउापालिकामा रहेका ६ वडा कार्यालय, प्रदेश, संघ र पालिकाबाट समेत खर्च भएका विवरण सार्वजनिक नगरेका कारण गाउँसभाको विषय कुनै छलफल नभएको उनले जानकारी दिए ।
पालिकाको सभा गर्न रुपनी गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवलाई पटकपटक भन्दा आजभोलि भन्दै टार्ने गरेको उनले बताए । अध्यक्ष यादवले गाउँसभा गर्नेतर्फ कुनै चासो नदेखाएको वडा नम्बर ४ का अध्यक्ष छेदी ईसरले बताए । उनका अनुसार आर्थिक वर्ष २०७९।०८० मा खर्च विवरण कार्यपालिकाले अनुमोदन सहित अगामी वर्षको वजेट विनियोजन गरि सार्वजनिकिरण गर्नू पर्ने भएकाले अध्यक्ष यादवले हाल सम्म गत आर्थिक वर्षको खर्च विवरण नदिएकाले गाउँसभा हुन नसकेको हो ।
पालिकाले वजेट खर्च गर्न सभामा भएको विनियोजित बजेट आर्थिक नियमावली अनुसार प्रमुख प्रशासकीय अधिकृतलाई खर्च गर्ने अख्तियारी दिनुपर्ने हुन्छ, रुपनी गाउँपालिकाका एक कर्मचारीले भने, कोष तथा लेखा नियन्त्रण लगायत विभिन्न सम्बन्धीत कार्यालयमा पठाई पालिकाको खाता संचालनमा आएपछि मात्र बजेट खर्च गर्न सकिन्छ । गाउँपालिकामा अहिलेसम्म गाउँसभा नभएका कारण दशैमा वजेट खर्च गर्न असम्भव रहेको ती कर्मचारीले बताए ।
हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिमोहन सुतिहारले असोज २९ गते नगरसभाको तयारी भएकोले छिटै सबै समस्या समाधान हुने बताए ।
रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले दशै अगाडि नै गाउँसभा गर्ने तयारीकासाथ वडा अध्यक्षहरु, विषयगत शाखा प्रमुखहरुसंग छ्लफलका लागि आज( बिहिवार ) बैठक बोलाएको बताए ।
गाउँसभा ढिलो हुनुमा आफ्नो कुनै दोष नभएको उनले जिकिर गरे ।