उत्तम आचार्य
राजविराज, २४ असोज।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश र मधेशको विकास एमाले नेतृत्वको सरकारले मात्र गर्न सक्ने बताएका छन् ।
नेकपा एमाले मधेश प्रदेशको जनकपुरधाममा बुधबार शुरु भएको प्रथम अधिबेशन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले गठबन्धनको वर्तमान सरकार जनता प्रति जवाफदेही नभएको भन्दै जनता प्रति जवाफदेही हुन आग्रह गरे । जनताको जनजिविकासँग जोडिएका वस्तुहरुको मुल्य दिनप्रतिदिन अकासिदै गएको र यसले नेपाली जनताको जनजिवनमा असर पर्दा पनि सरकारले जवाफदेही ढंगवाट काम गर्न नसको उनले आरोप लगाए ।
अध्यक्ष ओलिले इजरायलमा फसेका नेपाली विद्यार्थी सहित आम नागरिकलाई उद्धार गरी राहत सुविधा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए ।
देशको विकासलाई हाक्न सक्ने अभियन्ताको रुपमा एमाले पार्टी नै रहेको उल्लेख गर्दै अध्यक्ष ओलिले देश र मधेशको विकासका लागि एमालेको पुर्ण बहुमतको सरकार आवश्यक भएकोले त्यसका लागि एमालेले मिसन ८४ को शुरुवात गरिसकेको बताए ।
उनले हरेक वडामा एमाले कम्तीमा ५१ प्रतिशत हुने गरी अभियानमा लाग्नका लागि नेता कार्यकर्तालाई निर्देशन दिए ।

नेकपा एमाले मधेश प्रदेशको प्रमुख पार्टी भएपनि त्यसले सरकार बनाउन नसकिने भएकोले आउने निर्वाचनमा एमालेलाई कम्तीमा ६० सिट आउने किसिमले काम गर्नका लागि कार्यकर्ताहरुलाई आग्रह गरे ।
विगतमा आफु नेतृत्वको सरकारको कामकाज देखेर विरोधीहरुले विभिन्न खालका षडयन्त्र गरेपनि एमाले पहिलो शक्तिको रुपमा जनताको माझ रहेको बताँउदै उनले आन्तरिक एकता विरोधीसँग मुकावला गरी एमालेका नेता कार्यकर्ताले दृढतापूर्वक एकतावद्ध ढंगले अगाडी बढ्नुपर्नेमा जोड दिए ।
बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले नेपाललाई उठाउनका लागि मधेशलाई उठाउन जरुरी रहेको बताए । त्यसका लागि एमालेका सरकार आवश्यक भएको उनले जिकिर गरे।
एमालेको बहुमत नभएको खण्डमा देशमा राजनीतिक स्थायित्व कायम नहुने भन्दै उनले अगामी निर्वाचनमा एमालेलाई बहुमत दिलाउनका लागि आग्रह गरे ।
महासचिव शंकर पोखरेलले देशको विकासका लागि भिजन प्रस्तुत गर्ने पार्टी एमाले मात्र भएको जिकिर गरे । उनले एमाले नेतृत्वको सरकारका लागि मधेश प्रदेशले निर्णायक हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । मुलुकमा राजनीतिक स्थिरता र समाजिक अराजकता फैलिएको र यसवाट मुक्तिका लागि एमाले नै एक विकल्प भएको उनको भनाई थियो ।
कार्यक्रममा एमालेका मधेश इन्चार्ज योगेश भट्टराई, कोशी प्रदेश इन्चार्ज रघुविर महासेठ ,धनुषा इन्चार्ज लिलानाथ श्रेष्ठ, महोतरी इन्चार्ज जुली कुमारी महतो सहितकाले शुभकामना मन्तव्य व्यक्त गरे । समाजिक न्याय र सुशासन हाम्रो कार्यभार , मधेशको स्वाभिमान र समृद्धिका लागि एमालेको सरकार ” भन्ने मुल नाराको साथ बुधबारवाट सुरु भएको प्रदेश अधिबेशनमा १ हजार २७ जना प्रतिनिधिको सहभागिता रहेको बताइएको छ ।
अधिबेशनको बन्द शत्र बुधबार रातीबाट सुरु गर्ने तयारी गरिएको प्रदेश अध्यक्ष राम औतार यादव बताए ।