राजविराज नगरपालिकाले यस पटक म्याद गुज्रेपछि गरेको परिषद्मा सञ्चारकर्मीलाई बोलाएन । जनप्रतिनिधि मात्र बसेर कागजी रुपमा परिषद् गरेको भनियो ।
परिषद्का क्रममा जनप्रतिनिधिको नाचगानको दृष्य त सामाजिक सञ्जाल मार्फत सार्वजनिक भयो । तर त्यसले के कस्ता निर्णय ग¥यो भन्ने कुरा चाहिँ नगरवासी जनताले समेत अहिलेसम्म जानकारी पाउन सकेका छैनन् । पत्रकारको जानकारीबाट समेत पृथक राखेर नगर परिषद् गरिएपछि भित्रभित्रै के खिचडी पाक्दैछ भन्ने जिज्ञासा बढ्नु स्वाभाविकै हो । अहिले उक्त योजनाको रहस्य बाहिर आउन थालेको छ । परिषद्मा धेरैका आ–आफ्ना स्वार्थ रहेको कारणले अहिलेसम्म निर्णय सार्वजनिक हुन नसकेको बताइँदै छ । कसैलाई कागजी प्रकृया पनि पूरा नगरिएको विगतको बक्यौता आफ्ना मान्छेलाई भुक्तानी दिलाउनु परेको छ । एउटाले आफ्नो स्वार्थ पूरा गर्नेतिर लागेपछि अर्को पनि के कम ? उसको पनि चाहना पूरा गर्न सक्दा मात्र आफूले चाहेको योजनामा समर्थन र सहमति रहने भएका कारण पहिला कुरा नमिलाई निर्णय सार्वजनिक नगरिएको भन्ने आशंका बढेको छ । नगरपालिकाले जनताका चाहना र देखा परेका समस्याको समाधान चाहेको हो भने जनप्रतिनिधिको स्वार्थबाट माथि उठेर समस्यालाई प्राथमिकतामा राखेर काम गर्न आवश्यक छ । भित्रभित्रै चोचोमोचो मिलाएर कागजी मिलान पश्चात मात्र निर्णय सार्वजनिक गर्ने हो भने यसले नगरवासीको विकास प्रतिको चाहनामाथि नै कुठाराघात नहोला भन्न सकिन्न । जनताले तिरेको तिरोबाट खडा भएको कोषको दुरुपयोग गर्ने अधिकार कसैलाई पनि हुँदैन ।
यदि त्यही मनशायका साथ काम गर्न खोजिएको हो भने यसले जनभावनामाथि नै चोट पुग्ने निश्चित छ । उसै पनि राजविराज नगरपालिका विकासको अभावका कारणले विभिन्न समस्याबाट जेलिएको छ । तसर्थ नगरवासीको भावनाको कदरका साथ काम गर्न जरुरी छ । सूचना लुकाएर भित्रभित्रै नाटक मञ्चनको खेल गर्न चाहेको हो भने जनताकालागि त्यो कसरी स्वीकार्य हुन सक्ला ?