न्यूज टुडे
राजविराज, २४ असोज ।
सप्तरीको तिलाठी कोइलाडी ७ स्थित श्री लक्ष्मी बल्लभ नरसिंह माध्यमिक विद्यालय बभनगामा कट्टीमा बुधबार विद्यालय स्तरीय चित्रकला प्रतियोगिताको आयोजना गरिएको छ । पिपल इन निडको समन्वय तथा सहयोग, असमान नेपालको साझेदारीमा तिलाठी कोइलाडी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले १२ औं अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा प्रतियोगिता आयोजना गरेको हो ।

आरम्भ परियोजना अन्तर्गत आयोजित प्रतियोगितामा गाउँपालिका अन्तर्गत रहेको ९ विद्यालयको कक्षा १ देखि ५ सम्मका बालिकाहरुको सहभागीता रहेको थियो ।
प्रतियोगितामा भुमिका कुमारी मण्डल प्रथम, संतोषी कुमारी मण्डल द्वितीय, चाँन्दनी कुमारी गिरि तृतीय र अस्मिता कुमारी साहले सान्त्वना स्थान हाँसिल गरिन ।
बालिकाको अधिकारमा लगानी : हाम्रो नेतृत्व हाम्रो कल्याण भन्ने नाराको साथ आयोजित प्रतियोगितामा उत्कृष्ट स्थान हाँसिल गर्ने छात्राहरुलाई झोला लगायतका शैक्षिक सामाग्रीबाट पुरस्कृत गरिएको आसमान नेपालका जिन अफिसर शान्ता कुमारी सिंहले जानकारी दिइन् ।
मावि बभनगामा कट्टीका प्रधानाध्यापक बिपिन कुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समवन्य समिती सप्तरीका प्रमुख शिव नारायण साह, तिलाठी कोइलाडी गाउँपालिकाका शिक्षा संयोजक चन्द्र भूषण राई, आसमान नेपालका जिन अफिसर सिंह लगायतकाले उत्कृष्ट छात्राहरुलाई पुरस्कार प्रदान गरेका थिए ।

यसैगरी राजविराज नगरपालिका ६ स्थित रहेको आधारभुत विद्यालय थानगाछीमा समेत अन्तरास्ट्रिय बालिका दिवस मनाईएको छ । उक्त अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको जिन अफिसर सिंहले जानकारी गराइन ।