रामनाथ यादव
राजविराज १५ चैत ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ५ स्थित को. वर्साइनमा नवनिर्मित वर्थिङ सेन्टर भवनको उद्घाटन गरिएको छ । तिलाठी कोइलाडी गाउँपालिका ५ को वडा अध्यक्ष ललन प्रसाद राउतको अध्यक्षतामा आयोजित एक समारोहका बीच गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलले बुधबार उद्घाटन गरेको हो ।

कार्यक्रम बोल्दै गाउँपालिका अध्यक्ष मण्डलले ग्रामीण भेगका गर्भवती महिलाहरुलाई नव जात शिशुको जन्म दिनका निम्ति सुत्केरी गराउनका सहज होस भन्ने उद्देश्यले बर्थिङ्ग सेन्टर भवनको निर्माण गरि सेवा प्रबाह गरिएको बताए । गाउँपालिका अध्यक्ष मण्डलले बर्थिङ्ग सेन्टर संचालनमा जनताहरुको सहयोग अति आवश्यक हुनेमा जोड दिए ।
उद्घाटन समारोहमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादवले जनसंख्या मन्त्रालयको सहयोगमा नव निर्मित वर्थिग सेन्टर भवन निर्माण गरेको बताए । कार्यक्रममा स्वास्थ्य कार्यालय राजविराजका प्रमुख दुनियालाल यादव, सेभ द चिल्ड्रेनका प्रोग्राम कोर्डिनेटर देवकृष्ण भगत, सेभ द सप्तरीका पिल्ड अधिकृत विद्या मण्डल, सव इन्जिनियर सुनिल कुमार यादव, स्वास्थ्य चौकी तिलाठीका प्रमुख दिपेन्द्र झा, को. वर्साइन चौकीका इन्चार्ज मनोज प्रसाद देव,देवराम शर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा जग्गा दाता एवम् गाविसका पूर्व उपाध्यक्ष विशेश्वर साहलाई दोसला ओढाएर, अविर लगाएर सम्मान गरिएको थियो । विपद व्यवस्थापन अधिकृत राजेश झाद्वारा संचालित कार्यक्रममा स्वागत स्वास्थ्य शाखा प्रमुख भूपेन्द्र झाले गरे ।