वृजमान तामाङ्ग
राजविराज, ५ असोज। सप्तरीको रुपनी गाउँपालिका–६ का वडा अध्यक्ष गोबिन्द सिंह थापा मगरको सोमवार निधन भएको छ ।
लिभर सम्बन्धित समस्या रहेका ५५ वर्षिय मगरलाई उपचारका लागि अस्पताल लाने क्रममा वाटोमै निधन भएको हो । एक सातासम्म मोरङ्गको विराटनगर स्थित बिराट नर्सिङ होम उपचार गराएर उनी शुक्रवार मात्रै घर फर्केका थिए । अस्पतालले उनलाई आराम गर्न र समय–समयमा स्वास्थ्य जाँच गराउन सुझाव दिएको थियो ।
डाक्टरको सल्लाह अनुसार बिहिवार चेकजाँचका लागि जानु पर्ने भएपनि स्वास्थ्यमा समस्या आएपछि अस्पताल जादैं गर्दा वाटोमै निधन भएको उनकी पत्नि प्रभा पुलामी मगरले बताईन । घरायसी समस्याका कारण तनाव भएर स्वास्थ्यमा समस्या देखिएपछि चेकजाँच गराउँदा लिभरमा समस्या देखिएको उनले जानकारी दिईन्।
मगरलाई बाटोमा घर निर्माण गरेको आरोप लागेको थियो । सो विषयमा गाउँपालिकाको न्यायिक समितिमा मुद्दा समेत परेको थियो । न्यायिक समितिले घर बनाउन अनुमति दिएपछि उनले फेरी उनले तला थप्न थालेका थिए। सोहि क्रममा विपक्षीले बारम्बार अवरोध गरेपछि उनी तनावमा रहेको पारिवारीक सदस्यले जानकारी दिएका छन्।
सो मुद्दामा जिल्ला अदालत सप्तरीले अन्तिरिम आदेश जारी गरी काम यथास्थितिमा राख्न आदेश दिएको थियो भने उच्च अदालतले भने अन्तिरिम आदेश गर्नु नपर्ने भन्दै आसोज २ गते फैसला सुनाएको थियो ।
मगर स्थानीय चुनावमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।
वडा अध्यक्ष मगरको पार्थिव शरिरमा प्रदेश सभा सदस्य समिम मियाँ, गाउँपालिका अध्यक्ष हरेराम यादव, उपाध्यक्ष वेचनीदेवी सरकार, अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरी लगायतले राष्ट्रिय झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
वडाध्यक्ष मगरेको निधन भएपछि शोक मनाउन मंगलवार गाउँपालिका र वडाका सवै कार्यालय वन्द गरिने गाउँपालिका अध्यक्ष हरेराम यादवले जानकारी दिए ।