राजविराज, ९ असार । हालै ल्याएको नागरिकता विधेयकको विरोध गर्दै जनता समाजवादी पार्टी निकटका विद्यार्थीहरुले राजविराजमा मङ्गलवार प्रधानमन्त्रीको पुतला दहन गरेका छन् ।
विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने निर्णयको विरोध गर्दै राजविराज स्थित शहिद दशन चौकमा युवा विद्यार्थीहरु प्रदर्शन गर्दै पुतला दहन गरेका हु्न् । पुतला दहनका क्रममा प्रहरी र प्रदर्शनकारीहरु बिच सामान्य घम्साघम्सी समेत भएको थियो ।
शहिद दशन चौकमै आयोजित सभामा वैवाहिक अंगीकृत नागरिकताको विषयलाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै युवा विद्यार्थीहरुले यो निर्णय फिर्ता नलिए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । मधेशी समुदायले भारतको विभिन्न स्थानहरुमा वैवाहिक सम्वन्ध हुने गरेको चर्चा गर्दै युवा विद्यार्थीहरुले सरकारलाई मधेशी जनताको भावनालाई बुझेर नागरिकताको विषयमा गम्भीर बनेर समस्या समाधानकालागि आग्रह गरेका छन् ।
विरोध कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका केन्द्रिय तथा स्थानीय नेताहरुको सहभागिता रहेको युवा नेता केदार यादवले जानकारी दिएका छन् ।
