• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

घरबाट भागेका प्रेमिल जोडीः जसले कोरोनालाई समेत जिते

घरबाट भागेका प्रेमिल जोडीः जसले कोरोनालाई समेत जिते

श्यामसुन्दर यादव
राजविराज, २ असार । दश महिना घर–परिवारबाट विद्रोह गरी प्रेम विवाह गरेका एक प्रेमिल जोडीले कोरोना भाइरसलाई समेत जित्न सफल भएका छन् ।
गत भदौ २६ गते वैवाहिक बन्धनमा बाँधिएका सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्वर ३ हटैल का सुनिल साह र विभा साहले कोभिड–१९ कोरोना भाइरसलाई परास्त गर्दै जीत सुनिश्चित गरेका हुन् । सुनिल राजविराज स्थित शारदा ईङ्गलिस बोर्डिङ्ग स्कूलमा अध्ययनरत थिए भने स्थानीय विभा मनोकामना स्कूलमा । कक्षा ६ मा अध्ययनरत रहँदादेखि नै उनीहरु बिच प्रेम सम्वन्ध रहँदैआएको थियो ।
जब दुबै जना कक्षा १० उतीर्ण गरे, अनि बाहिर पढ्न जाने कुरा भयो । यता दुवै जना बिच रहँदैआएको प्रेम सम्वन्धबारे उनीहरुका आमाबुवालाई थाहा भयो । दुबै पक्षका अभिभावकले मान्न तयार भएन । बरु, विभाका अभिभावकले अन्यत्रै विवाह गर्ने कुरो गरे । सुनिलले आफ्ना बा–आमालाई रिझाउन सफल भए । तर शर्त थियो, पहिले पढाई अनि बिहे । उता विभाको घरपरिवारले अन्यत्रै विवाह गर्ने तयारी गरिरहँदा दुवै जनाले एक–अर्कालाई कहिले पनि साथ नछाड्ने कसम खाए । एक अर्का बिना बाँच्न नसक्ने भन्दै उनीहरु अन्ततः घरपरिवार र सामाजिक घेरालाई पार गर्दै प्रेम विवाह गर्ने निष्कर्षमा पुगे ।
सुनिलका अभिभावकले उच्च शिक्षा अध्ययन गर्न बिराटनगर पठाई दिए भने विभाका बाआमाले मेडिकल पढाईकालागि हेटौडा पठाईदिए । तर उनीहरु बिच लुकिछिपी मोबाइल फोनमा सम्पर्क भईरहेको थियो । विभाले आफ्नो विहे अन्यत्र गर्ने तयारी भईरहेको सुनिललाई बताएपछि उनीहरु घरबाट विद्रोह गरेर प्रेम विवाह गर्ने निष्कर्षमा पुगे । दुवैको सोच एउटै थियो एक–अर्कालाई पाउने । अन्ततः दुवै जना बाटो खर्चको चाँजो मिलाएर आवश्यक तयारी घरबाट निस्किएरै छाडे । कहाँ जाने ? के गर्ने ? लगायतका गम्भीर सवालका बावजुद उनीहरु भारतको दिल्लीतर्फ प्रस्थान गरे । यात्राका क्रममा थोरै पश्चाताप अनि धेरै खुशीका साथ दिल्ली स्थित ‘गुँडगाव’मा बस्न थाले । करिब आठ महिना उनीहरुसँगै बसे । त्यसक्रममा उनीहरु जुनिजुनिलाई सँगै रहने कसम खाँदै विवाह गरे ।
आनन्दकासाथ समय वित्दै गर्दा कोरोना भाइरसको महामारीले विश्वभरी नै आफ्नो ताण्डव रुप देखाउन थाले । भारत सरकारले लकडाउन गरेपछि सहरहरु खाली हुन थाले । त्यहाँ रहेका मजदूरहरु पनि गाउँतर्फ हुइँकिए । कोही पैदलै हिँडे भने कोही साइकलै चढेर हिँडे । लकडाउनको अवधी जतिजति बढ्दै थियो त्यति त्यति उनीहरुमाथि समस्या समेत थपिदै गयो । लकडाउन लम्बिएसँगै भारत सरकारले केही केही साधन खुल्ला गरेपछि उनीहरु ‘जे होला देखा जाला’ भन्दै घरतर्फ प्रस्थान गरे ।
सिमाना पार गरेर घरतर्फ जाने क्रममा दुवै जनालाई डाक्नेश्वरी नगरपालिकाको पातो क्वारेन्टाइनमा जेठ ३ गते राखियो । चार दिन त्यहाँ बसेपछि स्वाब संकलन गरियो । तीन दिनपछि दुबै जनाको रिपोर्ट आयो पोजेटिभ । उनीहरु आकासबाट खसे झैं भए तर एक–अर्कालाई सान्त्वना दिँदै ‘केही हुँदैन, कोरोनालाई हामी जितेरै छाड्छौं’ भनी चुनौतीलाई स्वीकार गरे । कोरोना पोजेटिभ प्रेमिल जोडीलाई राजविराज स्थित साईकृष्णा अस्पतालको आइसोलेसनमा राखियो । एउटै क्याबिनमा रहेर उनीहरु कोरोना विरुद्धको लडाई लडिरहे । अन्ततः जेठ ३२ गते विभाको रिपोर्ट नेगेटिभ आयो । तर सुनिलको रिपोर्ट आएको थिएन । विभालाई डिस्चार्ज गर्दा एक्लै जान मानिन । त्यसको एक दिन पश्चात अर्थात असार १ गते सुनिलको रिपोर्ट समेत नेगेटिभ आयो । जब त्यहाँ रहेका स्वास्थ्यकर्मीले सुनिलको पनि रिपोर्ट नेगेटिभ आएको बताएपछि उनीहरुको खुशीको सिमा नै रहेन । अनि उनीहरु दुवैजना अन्ततः आइसोलेसनबाट डिस्चार्ज भए ।
उनीहरु कोरोना संक्रमित भएको थाहा पाएपछि आमाबुवाको मन न हो । आइसोलेसनमा रहँदाको अवस्थामा उनीहरुलाई भेट्न दुवैका अभिभावकहरु भेट्न आए । त्यसपछि घरबाट भागेका जोडीलाई कोरोना भाइरसकै कारण परिवारजनसँगको विगे्रको सम्वन्धमा केही हदसम्म सुधार आयो ।
गत भदौ २६ गते घरबाट निस्केका उनीहरु डिस्चार्ज भएपछि सुनिलले विभालाई आफ्नै घर अर्थात हटैल लगे । अहिले उनीहरु खुशी साथ घरमा बस्न थालेका छन् ।
के भन्छन् प्रेमिल जोडी
उच्च शिक्षा हासिल गर्ने क्रममै घरबाट निस्केका उनीहरु पुनः अध्ययनलाई निरन्तरता दिने सोच बनाएका छन् । सुनिलले कक्षा १२ सकाएर कम्प्युटर ईन्जिनियर तथा विभाले मेडिकल पढ्ने सोच बनाएका छन् । शुरुमा घर परिवार रिसाए पनि अहिले आमाबुवाले आफुहरुलाई स्वीकार गरिसकेकोले बिचमै अवरुद्ध भएको सपना साकार हुने सुनिल बताउँछन् । कम उमेरमा वैवाहिक बन्धनमा बाँधिनु उपयुक्त नभएको स्वीकार्दै उनी भन्छन् ‘विभाका बाआमाले मानिदिएको भए हामीले पढाई सकाएरै बिहे गर्थेँ, तर उनको विहे अन्यत्र गर्ने भएपछि प्रेम विवाह गर्ने निष्कर्षमा पुगेँ ।’ पहिला पढाई सकेर आफु सक्षम भएपछि मात्र विहे गर्नु उपयुक्त हुने उनको अनुभव छ ।
पढ्ने उमेरमा विवाह गर्नु रहर नभई बाध्यता रहेको विभाले बताईन् । ‘एकअर्का विना बाँच्नै नसक्ने अवस्था थियो, त्यसैले बाध्य भएर यस्तो कठोर निर्णय लिन बाध्य भएँ’ उनी भन्छिन् ‘अझैं केही भएको छैन, पढेर केही गरेर देखाउने जिम्मेवारी हाम्रो काँधमा आएको छ, र पुरा गरेरै देखाउँछौं ।’