राजविराज, ३२ जेठ । विराटनगरको कोशी अस्पतालमा सरुवा भई जान लागेका राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले सप्तरी बसाईका क्रममा आफुलाई सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिएका छन् ।
आफ्नै कार्यकक्षमा आइतवार पत्रकार सम्मेलन आयोजना गरी यस्तो बताएका हुन् । सप्तरीको विषयमा शुरुमा बाहिरबाट विभिन्न नकारात्मक टिप्पणीहरु गरिए पनि काम गर्दै जाँदा राजनीतिकर्मी, जनप्रतिनिधि, पत्रकार नागरिक समाज लगायत सबै पक्षको सहयोग पाएकै कारण अस्पतालमा काम गर्न आफुलाई सहज भएको चर्चा गरे । अभावै अभाव र समस्यै समस्याका बिच अस्पतालमा आफु हाजिर भएको स्मरण गर्दै उनले भने ‘आज अस्पतालमा जे जति परिवर्तन भएको छ, त्यसमा अस्पताल परिवारका प्रत्येक सदस्यको ठूलो योगदान छ नै, आम सप्तरीवासीको सहयोग र सद्भाव मेरालागि अविस्मरणीय रहनेछ ।’
वि.सं. २०४३ सालमा अहेवको नियुक्ति यसै अस्पतालबाट पाएको प्रसङ्ग कोट्याउँदै उनले भने ‘मेरो औपचारिक सरकारी सेवा प्रवेश पाएको अस्पताल भएकोले पनि होला मैले अथक मेहनत गरेर भ्याएसम्म यो अस्पताललाई राम्रो बनाउने प्रयास गरेँ, कतिपय कार्य गर्न भ्याएँ भने कतिपय कार्य गर्न अझैं बाँकी छ, यो जिम्मेवारी भावी मेसु डा.रणजित कुमार झाको काँधमा आएको छ, मलाई विश्वास छ, वहाँले पुरा गर्नु हुनेछ ।’
तत्कालिन उप–प्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले गजेन्द्रनारायण सिंह अस्पतालको बेहाल छ भन्दै आफुलाई पठाएको स्मरण गर्दै डा. दासले थपे ‘अहिले वर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आफुलाई गृह जिल्ला कोशी अस्पताल सरुवा गरेकोले त्यहाँ पनि आफुले भ्याएसम्म ईमानदारिताकासाथ आफ्नो दायित्व निर्वाह गर्नेछु, मलाई जहाँ खटाईन्छ, त्यहाँ जान्छु ।’ 
अस्पतालमा पहिलाको जस्तो दुरावस्था नरहेको र विस्तारै परिवर्तनहरु समेत सेवाग्राहीले महशुस गर्न थालेको तथा आगामी दिनमा थप सुधार हुने उनले विश्वास व्यक्त गरे । उनका अनुसार हाडजोर्नीको अप्रेसन, पोष्ट अपरेटिभ वाड, नाक, कान र घाँटीको अप्रेसन, जेनरल सर्जरी, मेडिसिन, डायलायसिस, पेडियाट्रिक एनआइसियु सेवा, अत्याधुनिक डिआर मेसिनबाट एक्स–रे सेवा, सुविधा सम्पन्न प्रयोगशाला सञ्चालन गरी थाइराइड, डायबिटिज जाँच लगायतका सेवाहरु सञ्चालन हुँदैआएको छ ।
यसका साथै इमरजेन्सी (आकस्मिक) सेवातर्फ पुरानै संरचनामै इमरेन्सीमा २४ घण्टै मेडिकल अफिसर राखेर सेवा सञ्चालन, फोहोर व्यवस्थापन केन्द्र स्थापना गरी अटोकलेव मेसिनद्वारा निर्मलीकरण तथा शुद्ध खानेपानीको व्यवस्था, सामाजिक सेवा ईकाई, ओपिडी सेवाको व्यवस्थापन, एम्बुलेन्स सेवा, फार्मेसी लगायतका सेवाहरु सञ्चालनमा रहेको मे.सु. डा. दासले बताए । गजेन्द्रनारायण सिंह अस्पतालमा आफुले दिनरात एक गरेर खटेको स्मरण गर्दै उनले भने ‘म जहाँ गए पनि गजेन्द्रनारायण सिंह अस्पतालप्रति सदासयता रहिरहनेछ, सप्तरीबाट मैले धेरै कुरा सिक्ने अवसर पाएको छु, म पछि मेसुको जिम्मेवारी पाउने डा. झालाई समेत थप सहयोग र साथ दिन सबै पक्षसँग आग्रह गर्दछु ।’