• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

अब कोशी अस्पतालको मेसुको जिम्मेवारीमा डा. चुमनलाल

दुई वर्षमा गजेन्द्रनारायण सिंह अस्पतालमा के के भयो परिवर्तन ?
अब कोशी अस्पतालको मेसुको जिम्मेवारीमा डा. चुमनलाल

राजविराज, ३२ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासको सरुवा गरेपछि आइतवार रवाना–पत्र बुझेका छन् ।
गत फागुन ८ गते मन्त्रालयले उनलाई कोशी प्रादेशिक अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्टमा सरुवा गरेको थियो । कोरोना भाइरसको महामारी समेतलाई मध्यनजर गर्दै तत्कालकालागि डा. दास हालसम्म जिम्मेवारी वहन गर्दैआएका थिए । २०७५ जेठ २१ गते उनी सरुवा भई गजेन्द्रनारायण सिंह अस्पतालमा हाजिर भएका थिए । सप्तरीको संसदिय क्षेत्र नम्वर २ का सांसद समेत रहेका तत्कालिन उप–प्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको कार्यकालमा मे.सु. डा. दास राजविराज आएका थिए । गजेन्द्रनारायण सिंह अस्पतालको निमित मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवार वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. रणजित कुमार झाले पाएका छन् ।
अस्पतालको पहिलेको अवस्था
रेफरल अस्पतालको रुपमा बदनाम बनेको ५० शैय्याको गजेन्द्रनारायण सिंह अस्पतालमा डा. दास हाजिर हुँदा अवस्था अत्यन्तै दयनीय थियो । कुल १४ जना चिकित्सक कार्यरत रहेको थियो । सेवा सुविधाहरु भरपर्दो थिएन । अहेव तथा स्थानीय इन्स्टिच्युटका सिकारु विद्यार्थीहरुको भरमा अस्पताल सञ्चालन हुँदैआएको थियो । सेवा सुविधाको नाममा ओपिडी तथा गाइनोकोलोजीतर्फ सर्जरी सेवा सञ्चालनमा रहेको थियो ।
अहिलेको अवस्था अस्पताल
डा. दास हाजिर भएलगत्तै अस्पतालको मास्टर प्लान तयारी गराई तत्काल सुधारको प्रक्रिया थालेका थिए । गाइनेतर्फ सर्जरी सेवा मात्र रहेको अस्पतालमा हाल हाडजोर्नीको अप्रेसन, पोष्ट अपरेटिभ वाड, नाक, कान र घाँटीको अप्रेसन, जेनरल सर्जरी, मेडिसिन, डायलायसिस, पेडियाट्रिक एनआइसियु सेवा, अत्याधुनिक डिआर मेसिनबाट एक्स–रे सेवा, सुविधा सम्पन्न प्रयोगशाला सञ्चालन गरी थाइराइड, डायबिटिज जाँच लगायतका सेवाहरु सञ्चालन हुँदैआएको छ ।
यसका साथै इमरजेन्सी (आकस्मिक) सेवातर्फ पुरानै संरचनामै इमरेन्सीमा २४ घण्टै मेडिकल अफिसर राखेर सेवा सञ्चालन, एकद्वार संकट व्यवस्थापनका साथै चिकित्सक एवम् स्वास्थ्यकर्मीहरुलाई तालिम दिएर दक्ष बनाईएको छ । फोहोरमैलाका कारण दुर्गन्धित अस्पतालमा डब्लुएचओको मापदण्ड अनुसारको फोहोर व्यवस्थापन केन्द्र स्थापना गरी अटोकलेव मेसिनद्वारा निर्मलीकरण तथा शुद्ध खानेपानीको व्यवस्था, गरिब एवम् विपन्न विरामीहरुलाई सेवा पुर्याउने उद्देश्यकासाथ सामाजिक सेवा ईकाई सञ्चालन, ओपिडी सेवाको व्यवस्थापन, एम्बुलेन्स सेवा, फार्मेसी लगायतका सेवाहरु उनकै नेतृत्वमा सञ्चालनमा रहेको छ । अस्पताल परिसरमा विगत १२ वर्षदेखि निर्माण कार्य अलपत्र रहेको प्रसुती गृह निर्माण कार्य आवश्यक प्रक्रिया पुरा गरी काम द्रुत गतिमा अगाडी बढाईएको छ । उक्त कार्य हाल अन्तिम चरणमा पुगेको छ । ४५ करोडको लागतमा ओपिडी भवन निर्माण कार्य सञ्चालन, ईमरजेन्सी भवनको माथिल्लो तल्ला आइसियु सेवाकालागि पूर्वाधार निर्माण कार्य, स्टोर सुधार, आर्थिक कारोबारमा पारदर्शिता, कार्डिया सेन्टरकोलागि भवनको टेन्डर भईसकेको तथा सिटी स्क्यान सेवा सञ्चालनको तयारी अन्तिम चरणमा रहेको छ ।
चिकित्सकको आवास कक्षसहितको ४५ करोडको लागतमा इण्डोर ब्लक निर्माण सञ्चालन, नर्सिङ्ग कलेजको भवन निर्माण कार्य, पोष्टमार्टम कक्ष निर्माण लगायतका कार्यहरु भईरहेको छ । यसअतिरिक्त अनेकौं कार्यहरु डा. दासले आफ्नै नेतृत्वमा गर्न सफल भएका छन् । हालै सिटी स्क्यान मेसिन समेत ल्याईसकिएको छ । जुन सञ्चालनको तयारीमा रहेको छ । नेपाली सेनाको सहयोगमा गत वर्ष राष्ट्रिय स्तरको शिविर समेत सञ्चालन गरिएको थियो । यस्तै कोभिड–१९ परीक्षण प्रयोगशाला सफलतापूर्वक सञ्चालनका साथै कोरोना भाइरस संक्रमितहरुकालागि आइसोलेसन कक्ष सञ्चालन लगायतका कार्यहरु डा. दासकै नेतृत्वमा गरिएको छ ।
डा. दास देशमै उत्कृष्ट मेडिकल सुपरिन्टेन्डेन्टको रुपमा चिनिन्छन् । वेथिती रहेको अस्पतालमा सुधारकालागि मन्त्रालयले उनलाई पठाईने गरेको छ । उत्कृष्ट कार्य सम्पादन गर्दैआएका डा. दास उनी पटक–पटक राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन् ।