राजविराज, ३० जेठ । कोभिड १९ (कोरोना भाइरस)बाट संक्रमित भई आइसोलेसनमा भर्ना भएकाहरुमध्ये एकै दिन विहीवार १७ जना डिस्चार्ज भएका छन् ।
पछिल्लो पटक उनीहरुको स्वाब रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरी घर पठाईएको हो । कोरोना भाइरसलाई जितेर घर फर्किनेहरुमा बलान बिहुल गाउँपालिका वडा नम्वर २ कि रञ्जना कुमारी पासवान, बलान बिहुल गाउँपालिकाका–३ का शिवसुन्दर मण्डल, सुरुङ्गा नगरपालिकामा कार्यरत नेपाल प्रहरीका असई रामबाबु सिंह, बोदेवर्साइन नगरपालिका वडा नम्वर ९ का प्रदिप कुमार साह, वडा नम्वर ६ का विपिन कुमार साह, वडा नम्वर १ का धनेश्वर ठाकुर, वडा नम्वर ९ का श्रवण कुमार दास, वडा नम्वर ७ का युवराज सिंह, वडा नम्वर १ का रामसुन्दर यादव, छुतहरु राम, वडा नम्वर ६ का विजय कुमार सदा रहेका छन् ।
यसैगरी विष्णुपुर गाउँपालिका वडा नम्वर १ का मो. सागिर, खडक नगरपालिका वडा नम्वर ३ का अब्दुल कलाम, जगमानपुरका वीर शमशेर राउत, राजविराज नगरपालिका वडा नम्वर १० का रामअवतार यादव, गोसाई दास, राजेश दास र पंकज यादव रहेका छन् । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दास, कोभिड १९ व्यवस्थापन संयोजक डा. रणजित कुमार झा, डा. जितेन्द्र कुमार यादव लगायतले पुष्पगुच्छाले स्वागत गर्दै टिका लगाएर विदाई गरेका छन् ।
यसअघि बुधबार डाक्नेश्वरी वडा नम्वर ८ भुतहीका ३५ वर्षीय जसोलाल राम र वडा नम्वर ४ प्रवाहाका २२ वर्षीय रामकुमार मुखिया तथा बलान विहुल वडा नम्वर ४ मौवाहाका ३५ वर्षीय अमरनाथ मण्डललाई डिस्चार्ज गरिएको छ । यसैगरी सप्तरी जिल्लाको पहिलो कोरोना संक्रमित डाक्नेश्वरी नगरपालिका ३ हटैलका १८ वर्षीय नसिम हुसेन १८ दिनको उपचार पछि गत जेष्ठ २२ गते घर फर्केका छन् ।
सप्तरीमा हालसम्म १ सय २१ जना कोरोना संक्रमित पाईएकोमा हालसम्म २१ जना निको भएर घर फर्केका छन् ।