• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

प्रयोगशालाहरुले सप्तरीको स्वाब नमूना लिन मान्दैनः स्वास्थ्य प्रमुख यादव

दुई सय ३३ जनाको रिपोर्ट आउन बाँकी, स्वाब परीक्षणको पर्खाइमा १ हजार ६ सय २७ जना
प्रयोगशालाहरुले सप्तरीको स्वाब नमूना लिन मान्दैनः स्वास्थ्य प्रमुख यादव

राजविराज, २८ जेठ । कोभिड–१९ कोरोना भाइरस पिसिआर परीक्षण प्रयोगशालाहरुले स्वाब लिन नमानिरहेका कारण सप्तरी जिल्लामा स्वाब परीक्षण कार्यमा व्यापक ढिलासुस्ती बढेको छ ।
परीक्षण प्रयोगशालाहरुमा संकलित स्वाबको नमूना संख्या अत्यधिक रहेको भन्दै प्रयोगशालाहरुले थप स्वाबको नमूना लिन नमानेका हुन् । स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार जिल्लाबाट पठाईएको २ सय ३३ जनाको स्वाब रिपोर्ट आउन अझैं बाँकी रहेको छ । हाल धरान स्थित वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिराटनगर स्थित कोशी अस्पताल पठाईने गरिएकोमा एक हप्तासम्म भईसकेका स्वाबहरुको रिपोर्ट समेत नआई सकेको स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
सप्तरीमा क्वारेन्टाइनहरुमा भारतबाट आएकाहरुको संख्या अत्यधिक रहेको तथा अधिकांशको समय १४ दिन नाघिसकेको अवस्था स्वाब परीक्षण कार्यलाई तिब्रता दिईनु आवश्यक रहे पनि प्रयोगशालाहरुले थप स्वाब लिन नमानेको उनले बताए । छिट्टो स्वाब रिपोर्ट आए क्वारेन्टाइनहरुमा रहेकाहरुको विषयमा निर्णय सजिलो हुने बताउँदै उनले भने ‘हामीले दैनिक रुपमा चार सय जनाको स्वाब संकलन गरेर प्रयोगशालाहरुमा पठाउन सक्छौं तर स्वाब लिन तयार भए पो !’ जनकपुरको प्रयोगशालाले स्वाब नपठाउन भनी स्वास्थ्य कार्यालयलाई पत्र नै पठाईसकेको जानकारी दिँदै उनले एक हजार ६ सय २७ जनाको स्बाबको पिसिआर परीक्षण गराउनुपर्ने अवस्था रहेको बताए ।
पहिलाकै स्वाब रिपोर्ट नआएकोले थप स्वाब लिन नमानेको तथा राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सञ्चालन भएको प्रयोगशालामा दैनिक २२ देखि २६ जनाको स्वाब परीक्षण मात्र हुने तथा त्यो रिपोर्ट पनि धरानको प्रयोगशालाबाटै प्रमाणित हुने गरेको समय धेरै लाग्ने गरेको स्वास्थ्य प्रमुख यादवले गुनासो गरे । स्थानीय तहहरुले सञ्चालन गरेको क्वारेन्टाइनहरुमा समेत १४ दिनभन्दा बढी भईसकेकाहरुले स्थानीय तह तथा स्वास्थ्य कार्यालयमा दवाब दिने गरेको बताए । स्वाब परीक्षण कार्यले तीब्रता नपाउनु ठूलो चुनौती रहेकोले थप वैकल्पिक उपाय खोज्नुपर्ने बताउँदै उनले भने ‘बिना जाँच घर पठाउन पनि मिल्दैन, यसले समुदायमा जोखिम निम्त्याउनसक्ने अवस्था आउनसक्छ, त्यसैले स्वाब परीक्षण नै भरपर्दो माध्यम हो ।’