• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीमा तीन जना कोरोना संक्रमित निको भएर घर फर्के

सप्तरीमा तीन जना कोरोना संक्रमित निको भएर घर फर्के

राजविराज, २८ जेठ । कोभिड १९ (कोरोना भाइरस)बाट संक्रमित सप्तरीका थप तीन जना युवा समेत निको भएर बुधबार घर फर्केका छन् ।
डाक्नेश्वरी वडा नम्वर ८ भुतहीका ३५ वर्षीय जसोलाल राम र वडा नम्वर ४ प्रवाहाका २२ वर्षीय रामकुमार मुखिया तथा बलान विहुल वडा नम्वर ४ मौवाहाका ३५ वर्षीय अमरनाथ मण्डललाई डिस्चार्ज गरिएको हो । गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.चुमनलाल दासका अनुसार पहिलो पिसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएका डाक्नेश्वरी नगरपालिकाका २ र बलान विहुल गाउँपालिकाका १ गरी ३ जनाको दोश्रो रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको छ ।
डाक्नेश्वरी नगरपालिकाका राम र मुखियामा तथा बलान विहुल गाउँपालिका निवासी मण्डलको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएपछि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसन तथा पछि सारेर साईकृष्णा अस्पतालको क्वारेन्टाइनमा भर्ना गरिएको थियो । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष निगरानीमा रहेका उनीहरु आइसोलेसनमा १८ दिन बसेर निको भई घर फर्किएको मे.सु. दासले जानकारी दिएका छन् । तीनै जनालाई अस्पतालका मे.सु. डा. दास र कोभिड १९ व्यवस्थापन संयोजक डा. रणजित कुमार झा, नसिंङ्गसहित स्वास्थ्यकर्मीहरुको टोलीले खादा र टिका लगाएर स्वागत गर्दै विदाई गरेका छन् ।
डिस्चार्ज भएकाहरुले आफुहरुलाई शुरुमा केही डर लागे पनि पछि डर भागेको बताए । कोरोना संक्रमण भएको पुष्टि भएपनि आफुहरुमा कुनै लक्षण नदेखिएकोले पूर्ववत अवस्था झैं आइसोलेसनमा बसेको तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका सरोकारकारवाला निकायहरुको सहयोग अतुलनीय रहेको भन्दै सबैलाई धन्यवाद दिएका छन् ।
सप्तरी जिल्लाका पहिलो कोरोना संक्रमित डाक्नेश्वरी नगरपालिका ३ हटैलका १८ वर्षीय नसिम हुसेन १८ दिनको उपचार पछि गत जेष्ठ २२ गते नै घर फर्केका छन् । सप्तरीमा हालसम्म १ सय ६ कोरोना संक्रमण भेटिएकोमा हालसम्म ४ जना निको भएर घर फर्केका छन भने १ सय २ जना साइकृष्णा अस्पताल राजविराजस्थित आइसोलेसनमा रहेको गजेन्द्रनारायण सिंह अस्पतालका मे.सु. डा. दासले बताएका छन् ।