राजविराज, २६ जेठ । एकातर्फ सप्तरी जिल्लाको विभिन्न स्थानीय तहहरुमा संक्रमितहरुको संख्या बढ्दै गएको छ भने अर्कोतर्फ राजविराज सहितका बजारहरु पूर्ण रुपमा खुल्न थालेका छन् ।
बजारहरुमा खाद्यान्न लगायत अति आवश्यक बाहेकका पसलहरु खुल्न थालेपछि लकडाउनले आजित बनेका सर्वसाधारणको चहल–पहल ह्वात्तै बढेको हो । विगत दुई दिनयताको राजविराज बजार क्षेत्रको दृष्य झट्ट हेर्दाखेरी लाग्छ पर्व त्योहारमा लाग्ने मेला हो कि ! सम्पूर्ण पसलहरु पूर्ण रुपमा खुलेका छन् भने गुदरी हाटमा समेत खुद्रा पसलेहरुको व्यापक भींड लाग्ने गरेको छ ।
कोरोनाबाट जोगिनकालागि मुखमा अनिवार्य रुपमा मास्कको प्रयोग, कम्तिमा एक मिटरको सामाजिक दूरी कायम हुनुपर्ने, सेनिटाइजरको प्रयोग, पसलेहरुले आफ्नो सुरक्षाकालागि ग्लोभ्सको प्रयोग लगायतका अति आवश्यक सावधानीहरु अपनाउनुपर्नेमा त्यस्तो कुनै सावधानी अपाईएको छैन ।
निर्वाद्ध रुपमा सामानहरु खरिद बिक्री भईरहेका छन् । केही पसलेहरुले मास्क पनि लगाएको छैन । केहीले मास्क लगाए पनि मुख तल झारेर अड्काएका छन् । ग्राहकहरु समेत मास्कको महत्व नबुझेर हो वा बुझेर पनि अँटेर गरेको हो कि ! खुल्ला हातले एकदमै नजिक भएर सामानहरु किनबेच भईरहेको छ भने पैसा लेनदेन गर्दा सामान्य दूरीसम्म कायम नभएको स्थानीय प्रत्यक्षदर्शीहरु बताउँछन् । खुल्ला हातले पैसा लेनदेन गर्दा संक्रमणको जोखिम बढाएको छ नै ।
यता कपडा, मोबाइल, कस्मेटिक लगायतका पसलहरुमा समेत व्यापक भींड बढेको छ । पसलेहरु त असुरक्षित छन् नै । ग्राहकहरुको व्यापक भींडका कारण सामाजिक दूरी समेत कायम नहुँदा झन् कोरोना संक्रमण हुने खतरा बढाएको छ । लकडाउन खुल्ला भएको भनी खबर फैलिएसँग गाउँहरुबाट हुलका हुल बजारहरुमा निर्वाद्ध रुपमा आउन थालेका छन् ।
लकडाउन पालना गराउन सक्रिय रहने नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको समेत बजारमा उपस्थिति शुन्य जस्तै भएको छ । प्रहरी टोली समेत लकडाउन पालना गराउन ननिस्किएका कारण निवाद्र्ध रुपमा सामान्य अवस्था जस्तै बजारमा भींडभाड बढेको छ ।
एकतर्फ जिल्लामा तिब्र रुपमा कोरोना संक्रमितहरुको संख्या बढ्दै जानु र अर्कोतर्फ बजारमा लकडाउनको सामान्य नियमसम्म पालना नगरी व्यापक भींडभाड बढ्नु अनि सुरक्षा निकाय समेत मौन देखिनु गम्भीर चिन्ताको विषय भएको सप्तरीका वुद्धिजिवी देवेन्द्र मिश्र बताउँछन् । राजविराज लगायतका बजार क्षेत्रहरुको भद्रगोल अवस्थाले संक्रमणको उच्च जोखिम बढाएकोले सरोकारवाला निकाय गम्भीर बन्नुपर्ने उनको सुझाव छ ।
लकडाउन खुल्ला गरिएको छैनः प्रवक्ता
सप्तरी जिल्लाको राजविराज लगायतका बजारहरु पूर्ण रुपमा खुल्ला भए पनि सप्तरी प्रशासनले खासै प्रतिक्रिया देखाएको छैन । प्रहरी प्रशासनको मौनतासँगै बजारहरु निर्वाद्ध रुपमा खुल्न थालेका छन् । बजारहरु खुल्ला भई व्यापक भीँडाभाड बढेको विषयमा जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रवक्ता आनन्द ठाकुरसँग ‘लकडाउन खुल्ला गरिएको हो वा सुरक्षाकर्मी थाकेर यस्तो भएको हो कि ? भनी जिज्ञासामा लकडाउन खुल्ला नगरिएको बताएका छन् । ‘औपचारिक रुपमा लकडाउन खुल्ला गरिएको छैन, नियम विपरित पसलहरु खुलिरहेका छन्, व्यापक भीडभाड बढेको तथा सावधानीसम्म नअपनाएको जानकारी तपाईहरुबाटै आएको छ’ उनले भने ‘लकडाउन उल्लंघन गर्नेलाई नियमानुसार कार्वाही गर्छौं, तर यस्तो समवेदनशिल अवस्थामा आम नागरिकले आफै पनि विचार पुर्याउनु आवश्यक छ ।’
राष्ट्रिय
लकडाउनमा राजविराजसहितका बजारहरुमा व्यापक भींड
सुरक्षा निकायको मौनता, कोरोना संक्रमण बढ्ने खतरा