राजविराज, २६ जेठ । सप्तरीको बलान बिहुल गाउँपालिकामा सोमवार एकैपटक १६ जनामा कोरोना पोजेटिभ देखिएसँगै जिल्लामा संक्रमितको संख्या ९३ पुगेको छ ।
स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार दिएको जानकारी अनुसार पछिल्लो पटक संक्रमित थपिएसँगै बलान बिहुल गाउँपालिकामा कोरोना पोजेटिभको संख्या २७ पुगेको छ । संक्रमितहरुमा एक महिला समेत रहेका छन् । संक्रमणको पुष्टि भएकाहरुलाई क्वारेन्टाइनबाट राजविराज स्थित साईकृष्णा अस्पतालको आइसोलेसनमा ल्याईएको छ ।
हालसम्मको प्राप्त विवरण अनुसार वर्साइन नगरपालिकामा २० जना, डाक्नेश्वरी नगरपालिकामा १२ जना, राजगढ गाउँपालिकामा १३ जना, हनुमाननगर कंकालिनी नगरपालिकामा ६ जना, राजविराज नगरपालिकामा ५, छिन्नमस्ता गाउँपालिकामा ५, शम्भुनाथ नगरपालिकामा १, विष्णुपुर गाउँपालिका १, तिरहुत गाउँपालिकामा १, तिरहुत गाउँपालिकामा १, खडक नगरपालिका १ र सुरुङ्गा नगरपालिकामा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । कुल कोरोना संक्रमितहरुमध्ये ५ जना महिला रहेका छन् ।
स्वास्थ्य कार्यालयबाट खटिएको टोलीले विभिन्न क्वारान्टाइनहरुबाट स्वाब संकलन गरी परीक्षणकालागि धरान स्थित वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ परीक्षण प्रयोगशाला पठाईएको थियो ।