राजविराज, १८ वैशाख । कोरोना भाइसरको संक्रमणबाट जोगिनकालागि आमजनमानसलाई आफ्ना जिवनशैलीमा परिवर्तन ल्याउनु आवश्यक छ । स्वस्थ जिवन र सुरक्षाकालागि र पारिवारभित्रै एक–अर्काको सहयोग लिएर दिनचर्यालाई सहज बनाउनुपर्ने बाध्यात्मक अवस्था श्रृजना भएको छ ।
जारी लकडाउनका बिच यस्तै आफ्ना आवश्यकता पूर्तिकालागि विकल्पका रुपमा गरिएको अभ्यासको उदाहरण बनेका छन् राजविराज निवासी दिपेन्द्र चौधरीको परिवार । लामो लकडाउनले गर्दा सैलुनहरु बन्द रहेको तथा घरमै थुनिनुपरेका कारण उनको कपाल र दाह्री ठूलो भईसकेको थियो । कही कतैबाट विकल्प नदेखिएपछि सुनिता चौधरीले घरमै रहेको अस्तुरा (कैची) समाएर आफ्ना पति दिपेन्द्रको कपाल काट्न शुरु गरे । उनले भ्याएसम्म मिलाउने प्रयास गरे तर सैलुनको जस्तो कहाँ हुन्छ र ! यद्यपी उनले आफ्ना पतिको कपाल र दाह्री तथा छोरोको समेत कपाल काट्न भ्याईन् ।
सुनिताले कपाल काट्दै गरेको तस्विर दिपेन्द्रले बुधबार सामाजिक सञ्जालमा शेयर गरे । उक्त तस्विरलाई धेरै रुचाएर लाइक र कमेन्ट पनि गरे । सामान्य रुपमा हेर्दाखेरी अधिकांशलाई उक्त तस्विर खासै महत्वपूर्ण जस्तो लागेन । तर उक्त तस्विरले हामीलाई अपनाउनुपर्ने भावी जिवनशैलीको एउटा अभ्यासको दिशानिर्देश गरेको छ । यस्तै सुरक्षित जिवनशैली सबैले अपनाउनुपर्ने हुन्छ ।
कोरोना भाइरसको महामारीका कारण विश्वभरि नै त्राहिमामको अवस्थामा छ । अमेरिका, ईटली, फ्रान्स, युके, स्पेन, बेल्जियम, जर्मनी, इरान, ब्राजिल, नेदरल्याण्ड, भारत लगायतका देशहरुमा अझैं कोरोना भाइरस नियन्त्रणमा आउन सकेको छैन । विज्ञहरुका अनुसार कोरोना भाइरस नियन्त्रणमा आउन करिब आठ महिना अर्थात डिसेम्बरसम्म लाग्ने आँकलन गरिएको छ । कोरोनाको औषधी नबनुन्जेलसम्म पूर्ण रुपमा निर्मूल हुने सम्भावना नरहेको विज्ञहरुको भनाइ छ ।
तत्कालकालागि कोरोना भाइरसको संक्रमण नियन्त्रण आए पनि सर्वसाधारणले आफ्नो जिवनशैली तथा खानपानमा व्यापक परिवर्तन ल्याउनु आवश्यक रहेको चिकित्सकहरु बताउँछन् । लकडाउन खुकुलो वा खुल्ला भएपछि पनि पहिलेको जस्तो जिवनशैलीमा परिवर्तन ल्याएर कोरोनाबाट जोगिनुपर्ने राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. रणजित कुमार झाको सुझाव छ । उनका अनुसार फेस मास्क, पटक–पटक हात धुने बानी, सेनिटाइजरको प्रयोग, व्यक्तिगत सामग्रीको प्रयोग, खानपान तथा सार्वजनिक सैलुनको प्रयोग लगायतका विषयहरुमा अनिवार्य रुपमा ध्यान दिनुपर्ने हुन्छ ।
पुरुषहरु सार्वजनिक सैलुन तथा महिलाहरुले व्युटी पार्लरको प्रयोग गर्ने सामान्य जस्तै भईसकेको छ । यद्यपी आगामी दिनहरुमा जेन्स सैलुन वा पार्लर हाम्रैलागि घातक हुनसक्ने सम्भावना समेत उतिक्कै छ । एउटै तौलिया, क्रिम तथा औजारहरु प्रयोग गर्ने गरिन्छ । यसले गर्दा कोरोना लगायतका अन्य रोगहरु सार्न सकिने सम्भावना रहेकोले सकभर आफ्नै सुरक्षाकालागि सामान्य जस्तो लाग्ने विषयवस्तुहरुमा ध्यान दिनुपर्ने डा. झाको सुझाव छ । यसका साथै होटेलमा सामुहिक खाना लगायतका विषयहरुलाई समेत गम्भीरतापूर्वक लिईनु आवश्यक छ ।
प्रकृतिसँगको खेलवाडका कारण मानव जिवनमा चुनौतिहरु थपिदै गएको छ । बाँदरबाट एचआइभी एड्स, चमेरोका मासु खाँदा सार्स, इबोला र कोरोना जस्तो भाइरसको जन्म भएको हो । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार मासुजन्य पदार्थको सेवनले विश्वमा धेरै खतरनाक रोगहरु सरेको छ ।
वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. झाका अनुसार खासगरी नेपाल तथा भारतमा पान, रजनीगन्धा, राजनिवास, अमृत प्लस, पुकार, भोला इत्यादी गुट्खा तथा खैनीको सेवनकर्ताको सङ्ख्या अत्यधिक छ । ती सामग्रीहरु आफ्नै स्वास्थ्यकालागि हानिकारक छन् नै । पान तथा गुट्खा एवम् सुर्तीजन्य सामग्री खाईसकेपछि पटक–पटक जथाभावी थुक फाल्ने गरिन्छ । ‘वर्तमान अवस्थामा कोरोना संक्रमित व्यक्तिको थुकको एउटा सानो कणले अरुलाई कोरोना संक्रमित बनाउन सक्छन् भने पटक–पटकको थुक तथा पानको पीकले कैयौं व्यक्तिलाई जोखिम बढाउने खतरा छ’ डा. झा भन्छन् ‘जसरी पश्चिम बङ्गालमा मुख्यमन्त्री ममता बेनर्जीले सार्वजनिक थुक फाल्न निःशेध गर्दै पाँच हजार रुपैयाँ जरिवाना समेत तोकेको छ, त्यसरी नै नेपालमा समेत यस्ता विषयलाई गम्भीरतापूर्वक लिईनुपर्दछ ।’
राष्ट्रिय
स्वस्थ जिवन जिउन घरबाटै सहयोगी अभ्यास
संक्रमणबाट बच्न आफ्नै घरमा सैलुन र पार्लर