राजविराज, १८ वैशाख । निरन्तरको लकडाउनका कारण विद्यालयहरु बन्द रहेको अवस्थामा विद्यार्थीहरुलाई लक्षित गरी सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले एफएमबाटै कक्षा सञ्चालनमा ल्याएको छ ।
राजविराज स्थित सी–एफएमसँगको सहकार्यमा आजदेखि ‘पाठशाला अपना घरेमे’ नामक कार्यक्रम विहीबारदेखि सञ्चालनमा ल्याईएको हो । एस.ई.ई. परीक्षामा सहभागी हुने तथा कक्षा ९ बाट १० मा जाने विद्यार्थीहरुलाई लक्षित गरी एफएमबाट कक्षा शुरु गरिएको छ ।
विद्यार्थीहरुको पठन–पाठन पूर्ण रुपमा ठप्प रहेकोले वैकल्पिक कक्षाको रुपमा एफएमबाट प्रशारण थालिएको शिक्षक अरहुल कुमारी साहले बताईन् । विद्यालयहरुमा पठन–पाठन सुचारु नभएसम्मकालागि दैनिक दुई घण्टा मातृभाषा तथा विषय अनुसार सम्वन्धित भाषामा पठन–पाठन गरिने छ । ३० मिनेटको घण्टी अनुसार विषयगत शिक्षकहरुद्वारा सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिएका छन् ।
सप्तरी जिल्लामा १८ ओटा स्थानीय तह रहेकोमा एफएमबाट कक्षा सञ्चालन पहिलो पटक तिलाठी कोइलाडी गाउँपालिकाले गरेको हो ।