• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

भद्रगोल व्यवस्थापनले सास्ती झेल्न बाध्य राजविराजवासी

मेयर यादव भन्छन् ‘नगरवासीलाई समस्या छैन’
भद्रगोल व्यवस्थापनले सास्ती झेल्न बाध्य राजविराजवासी

राजविराज, १७ वैशाख । राजविराज नगरपालिकाले दैनिक उपभोग्य सामग्रीहरु खरिद गर्नकालागि समुचित व्यवस्थापन गर्न नसकेका कारण दैनिकजसो सर्वसाधारण प्रहरीबाट कुटाई खान बाध्य भएका छन् ।
दाल, चामल, नुन, तेल, मसला लगायतका सामग्रीहरु खरिद गर्न आउने सर्वसाधारण लकडाउन उल्लंघन गरेको आरोपमा कुटिनु परेको हो । बजार क्षेत्रमा रहेका किराना पसलमा सामान लिन आएको अवस्थामा प्रहरी टोली आउने वित्तिक्कै हटियामा भागाभागको अवस्था हुने गरेको राजविराज नगरपालिका वडा नम्वर–७ का लक्ष्मण साह बताउँछन् । ‘पसलेलाई ढोका बन्द गर्न बन्द गर्न हतारो हुन्छ, यता ग्राहक सामानै नलिई भाग्ने गर्छन् उनी भन्छन् ‘भाग्न नसक्ने कतिपय सर्वसाधारण प्रहरीको लट्ठी तथा दुव्र्यवहारको सिकार हुने गर्छन् ।’
किराना तथा तरकारी पसलहरुको हकमा सामाजिक दूरी मेन्टन हुने गरी खाद्यान्न सामग्री खरिद गर्न छुट दिनुपर्ने उपभोक्ता विजयकुमार यादव बताउँछन् । सम्भव भए साँझ विहानको समयमा समय तालिका बनाएर व्यवस्थित गर्नुपर्ने बताउँदै उनी भन्छन् ‘यहाँ त कुनै टाइम सेडुल छैन, दैनिक उपभोग्य सामग्री खरिद सर्वसाधारण हटियामा आएका हुन्छन्, कुनैबेला प्रहरी तथा नेपाली सेनाको टोली आईदिन्छन्, त्रसित भएर भागाभागको अवस्था छ ।’ सर्वसाधारणकालागि कुनै व्यवस्थापन हुन नसकेकोले दिनभरि हटियामा रमिता जस्तै हुने गरेकोले यसको वैकल्पिक व्यवस्था गर्न सर्वसाधारणको आग्रह छ ।
नगरपालिकाको भद्रगोल व्यवस्थापन
राजविराजको बजार क्षेत्र लगायत अन्य वडाहरुका नागरिकलाई सहजताकालागि ठोस कदम चाल्नुपर्नेमा हालसम्म खासै चासो देखाएको छैन । लकडाउन आह्वान भएको केही दिनपछि रङ्गशालामा तरकारी हाट शुरु गरेकोमा दुई पछि बन्द गरिएको थियो । सर्वसाधारणलाई दूरी मेन्टेन तथा त्यसको थप व्यवस्थापनै नगरी तरकारी हाट बन्द गर्ने निर्णय गरिएको थियो । सोही दिनको बैठकले नगरपालिकाको १६ वटै वडामा फराकिलो स्थानमा तरकारी हटिया सञ्चालन गर्ने, लकडाउन अवधिभर दैनिक खाद्यान्न सहित दैनिक उपभोग्य सामग्री घर–घरमा पु¥याउने व्यवस्था गर्ने, अनलाइन मार्फत खाद्यान्न सामग्रीको घरघरमा पु¥याउने निर्णय गरिएको थियो ।
नगरपालिकाको निर्णयहरु निर्णयमै सिमित हुन पुगेको छ । लकडाउनको अवधीमा नगरवासीको सुविधालाई ध्यान पुर्याउनुपर्नेमा जनप्रतिनिधीहरुले ध्यान नदिएका कारण राजविराज बजार क्षेत्रमा लकडाउन झन भद्रगोल हुन पुगेको छ ।
के भन्छन् मेयर ?
नगरवासीको समस्याप्रति आफुहरु गम्भीर रहेको राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादवको दावी छ । उनकै शब्दमा अधिकांश वडाहरुमा राहत वितरण गरिएको छ । वडा अध्यक्षहरु मार्फत प्रत्येक वडामा राहत वितरण कार्यलाई प्राथमिकताकासाथ अगाडि बढाईएको छ ।
सम्पूर्ण वडाहरुमा सामाजिक दूरी मेन्टेन हुने गरी तरकारी हाट लाग्ने गरेको तथा यसकासाथै प्रत्येक वडाहरुमा रिक्सा ठेलामा तरकारी तथा दैनिक उपभोग्य सामग्रीहरु पुग्ने गरेको दावी गरेका छन् । यद्यपी मेयर यादवको उक्त भनाईहरु व्यवहारमा कार्यान्वयनमा नभएको नगरवासीहरुको टिप्पणी छ ।
यस्तो छ प्रशासनको भनाई
राजविराज नगरपालिकामा लकडाउनको पालना नभएको भन्दै सञ्चारमाध्यमहरुमा आलोचना हुन थालेपछि सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रवक्ता आनन्द ठाकुरको भनाई छ । शुरुका दिनमा रङ्गशालामा तरकारी हाट लाग्न थालेपछि सामाजिक दूरी कायम नभएको भनी गुनासो आएपछि हाट बन्द गरिएको उनी बताउँछन् ।
उनका अनुसार हाट तथा बजार क्षेत्रमा सर्वसाधारणको चहल–पहल तथा पसल अगाडि भीडभाड देखिएकोले कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा सतर्कता बढाईएको छ । ‘जहाँसम्म टाइम सेडुलको कुरा छ, विहान र साँझ मात्रै समय दिएमा झन भींड बढ्ने गरेकोले बाध्यतावस कडाई गर्नुपरेको छ’ प्रवक्ता ठाकुरले भने ‘दैनिक उपभोग्य सामग्री खरिद गर्न रोक लगाईएको छैन तर भींडभाड हुनुहुँदैन, एक–दुई जना गरेर दूरी बनाएर सतर्कता अपनाउँदै सामान खरिद गर्दा आपत्ति छैन ।’