• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राहतमा काखापाखा भएको भन्दै व्यापक विरोध

तत्काल स्थगन भयो राहत वितरण कार्य
राहतमा काखापाखा भएको भन्दै व्यापक विरोध

राजविराज, १६ वैशाख । सप्तरीको महदेवा गाउँपालिका वडा नम्वर–४ मा राहत वितरणमा काखापाखा भएको भन्दै स्थानीयवासिन्दाले व्यापक विरोध जनाउँदै अवरोध पुर्याएका छन् ।
बलिया स्थित वडा कार्यालयमा मङ्गलवार राहत वितरण कार्य शुरु गर्ने क्रममा स्थानीय वासिन्दाले हो–हल्ला गरेपछि वितरण कार्य स्थगित गरिएको हो । राहत वितरणकालागि राजनीतिक आस्थाकै आधारमा विभेद गरिएको तथा अति गरिब एवम् विपन्न परिवारको नाम समेत छुटाएको भन्दै उनीहरुले राहत वितरण कार्यमा अवरोध पुर्याएका थिए ।
उनीहरुले अति विपन्नहरुको नाम समावेश हुनुपर्ने, मापदण्ड अनुसारको राहत वितरण हुनुपर्ने लगायतका माग गरेका छन् । वडा सचिव लाल कुमार मण्डललाई स्थानीयले राहतमा विभेद किन भयो ? भन्दै घेरपछि उनले आफुलाई थाहा नभएको तथा उक्त विषयमा वडा अध्यक्षसँग कुरा गर्न भन्दै भीँडबाट निस्किएका थिए । छुटेका व्यक्तिहरुको नाम समावेश नगरिएसम्म राहत वितरण हुन नदिने भनी अडान जारी रहे पछि राहत वितरण कार्य स्थगित भएको स्थानीय जिवन यादवले जानकारी दिएका छन् ।
यता वडा अध्ययक्ष जुगेश्वर साहले राहत वितरण कार्यमा कसैलाई काखापाखा नगरिएको दावी गरेका छन् । वडामा कुल एक हजार दुई सय घरधुरी रहेकोमा पाँच सय ८० परिवारको नामावली सङ्कलन गरेर सोही अनुसार वितरण गर्ने क्रममा स्थानीय केही व्यक्तिहरुको समूहले अवरोध पुर्याएको उनले जानकारी दिए । छुटेका केही व्यक्तिहरुलाई समेत थप गरेर पछि राहत दिने प्रतिवद्धता गर्दा पनि सबैलाई राहत दिन माग गरेकोले त्यो तत्काल सम्भव नभएको वडा अध्यक्ष साहले बताए । राहत वितरण कार्य स्थगन गर्दै उक्त विषयमा गाउँपालिका अध्यक्ष दिपक कुमार यादवलाई समेत जानकारी गराएको उनले बताए ।