राजविराज, १५ वैशाख । संघीय संसदमा प्रतिनिधीत्व गर्ने प्रमुख तीन पार्टीका नेताहरुको बैठकले स्वेच्छाचारी र सर्वसत्तावादी प्रवृति विरुद्ध लोकतन्त्रवादी शक्तिहरु एकतावद्ध भएर संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
नेपाली कांग्रेस केन्द्रिय कार्यालयमा सोमवार नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका शिर्ष नेताहरुको बैठकले यस्तो प्रतिवद्धता व्यक्त गरेको हो । लोकतान्त्रिक मूल्य मान्यताहरुलाई कुल्चिदै वर्तमान सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको भन्दै बैठकले विरोध जनाएको छ ।
सरकारले अधिनायकवादी उद्देश्य प्राप्तिकालागि सांसद डा. सुरेन्द्र यादव अपहरण काण्डको बैठकले विरोध गर्दै उक्त कार्यमा संलग्न व्यक्तिहरुलाई तत्काल कानूनी कार्वाही अगाडि बढाउन माग गरेको छ । कोरोना भाइरस संक्रमणको सन्दर्भमा गरिएको लकडाउनको अवधीमा जनताका न्यूनतम आवश्यकता पूर्ति गर्ने तथा नेपाली अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्न तत्काल राहत कार्यक्रमको ठोस योजना प्रस्तुत गर्न माग गरेको छ । कोरोना भाइरसको यथार्थ स्थिति पत्ता लगाउन आवश्यक टेष्टिङ्गमा भएको असाधारण ढिलासुस्ती समाप्त गरी तिब्रता दिन बैठकले माग गरेको छ ।
नेपाली कांग्रेसबाट शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधी, विजय कुमार गच्छदार, डा. शशांक कोइराला, पूर्ण बहादुर खड्का, डा. प्रकाश शरण महत, गोपालमान श्रेष्ठ, डा. प्रकाशमान सिंह, विश्वप्रकाश शर्मा र राधेश्याम अधिकारी बैठकमा सहभागी थिए । यसैगरी जनता समाजवादी पार्टी नेपालबाट महन्थ ठाकुर, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्र यादव, शरतसिंह भण्डारी, अशोक राई र राजेन्द्र श्रेष्ठ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डा. प्रकाशचन्द्र लोहनी सहभागी रहेको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।