राजविराज, १३ वैशाख । नेपालमा हालसम्म ४९ जनामा कोरोना भाइरस (कोभिड१९)को संक्रमण भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार शनिवार साँझसम्म देशैभरिमा ४९ जनामा कोरोना पोजेटिभ रहेको पाईएको छ भने तीमध्ये १२ जना उपचार पश्चात घर फर्किएका हुन् । भरतपुर अस्पतालमा उपचाररत २७ वर्षिय पुरुष शनिबार निको भएर घर फर्किएका छन् भने शुक्रबार धौलागिरी अस्पतालबाट १९ वर्षिया युवती उपचारपछि निको भएर घर फर्किएकी छिन् ।
गत चैत ४ गते उनका छोरा दुबइबाट फर्किएका थिए । संक्रमण देखिएका पुरुषसँगै अन्य तीन जनाको आरडिटी पोजेटिभ देखिएपछि पिसिआर परीक्षण गरिएकोमा एक जनाको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । हालसम्मको तथ्याङ्क अनुसार विराटनगरमा ३०, वीरगञ्जमा ५ तथा भरतपुर तथा धनगढीमा १—१ जना गरी देशभरी ३७ जनाको उपचार भईरहेको छ ।
हालसम्म ९ हजार ६ सय ६६ जनाको पिसिआर परीक्षण गरिएको छ भने ३९ हजार ६ सय ७० जनाको आरडिटी गरिएको छ । तीमध्ये ९ हजार ६ सय १७ जनामा कोरोनाको संक्रमण देखिएको छैन । क्वारेन्टाइनहरुमा कुल १४ हजार ७ सय ३१ जनालाई निगरानीमा राखिएको छ । यसैगरी ८७ जनालाई आइसोलेसनमा राखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
यसैगरी विश्व स्वास्थ्य सङ्गठन अनुसार विश्वभरिमा २६ लाख ८६ हजार ७ सय ८५ जना कोरोना सङ्क्रमित भएका छन् । तीमध्ये एक लाख ८४ हजार ६ सय ८१ जनाको मृत्यु भएको छ ।