राजविराज, ११ वैशाख । लकडाउनको मौकामा धार्मिक स्थलहरुलाई लक्षित गरी उछृङ्खल क्रियाकलाप हुन थालेपछि सप्तरीको बलान बिहुल गाउँपालिकामा साँझ ७ बजे उप्रान्त घरबाट ननिस्किन उर्दी जारी गरेको छ ।
मन्दिर, मस्जिद, चोक, बाटो, चौतारा लगायतका स्थलहरुमा भेला हुन वा हिडडुल गर्न विहीबारैदेखि लागु हुने गरी गाउँपालिकाले पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको हो । गाउँपालिका वडा नम्वर–३ मौवाहा स्थितको डगरिन थान, वडा नम्वर–४ बेल्हीको हनुमान मन्दिर र शिव मन्दिरमा मङ्गलवार राती केही उछृङ्खल व्यक्तिले सामान्य तोडफोड लगायतका कार्यहरु गरेको गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले जानकारी दिएका छन् । उक्त घटनालाई आफुले गम्भीर रुपमा लिँदै बुधबार बसेको नेपाल प्रहरी, सशस्त्र प्रहरी समेतको बैठकले साँझ ७ बजे उपरान्त सार्वजनिक स्थलहरुमा फेला परेमा कानून बमोजिम कार्वाही गर्ने निर्णय गरिएको उनले बताए ।
वर्तमान सम्वेदनसील अवस्थामा सम्पूर्ण जनसमुदायलाई गम्भीर बन्न आग्रह गर्दै अध्यक्ष गोइतले संयमित भई सामाजिक सद्भावलाई कायम राख्न आह्वान गरेका छन् । हाल उक्त स्थलहरुलाई प्रहरीले निगरानीमा राखेको छ ।
यता गलत क्रियाकलापमा संलग्न व्यक्तिको खोजी कार्य तीब्र पारिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता तिलक भारतीले जानकारी दिएका छन् ।
राष्ट्रिय
बलान बिहुलको धार्मिक स्थलहरुमा प्रहरीको निगरानी
साँझ सात बजे उप्रान्त घरबाट ननिस्किन उर्दी