बृजमान तामाङ
बिरेन्द्र बजार, ०७ बैशाख । सप्तरीको बिरेन्द्र बजारबासीले बटुवाहरुलाई जलपान र भोजन गराएका छ ।
कोरोना भाईरसको जोखिम बढेसँगै सरकारले लकडाउन लम्ब्याएपछि लामो दुरिबाट आएका पैदल यात्रीलाई बजारबासीद्वारा जलपान र भोजनको व्यवस्था मिलाईएको हो । बिरेन्द्र बजारबासीले पुर्वपश्चिम मार्गमा पैदल हिडेकाहरुलाई बोलाएर खाना खुवाएर पठाउने गरेका छन् ।
काठमाडौ, पोखरा, नेपालगन्ज, बिराटनगर लगाएतका प्रमुख शहरबाट हप्तौं लगाएर पैदलै आएकाहरु र बाटोमा अलपत्र परेका मजदुर र बटुवालाई सहयोग गर्न बैशाख ४ गते देखि शिविर चलाएको स्थानीय कुमार मान श्रेष्ठले बताए । बटुवाहरुलाई बिहान खाजा र दस बजेदेखि खाना खुवाएर पठाउने गरेको समाजसेवी दिलिप दासले जानकारी दिए । स्थानीय ब्यबसायी, ब्यापारी, समाजसेवीहरुको सहयोगमा चलाएको खाना शिबिर लकडाउन अबधिभर जारी राखिने स्थानीय ब्यापारी देवनारायण साहले बताए ।
बजारबासीद्वारा व्यवस्था मिलाएको खाना खान पाउँदा बटुवाहरु खुशी भएका छन् । लामो दुरी हिडेर आएका पैदलयात्रीहरुले प्यास लागेर पानी खान कलमा जादा अन्य ठाउँमा दुब्र्यबाहर गरेको दुखेसो सुनाए । लकडाउनमा होटल पसलहरु बन्द हँुदा खाना र नास्ता गर्नु नपाएर भोकभोकै हिड्नु परेको पीडा बटुवाको छ । बाटो हिड्दा खेप्नु परेको सास्ती सुनाउँदै पोखराबाट ११ दिन लगाएर बिरेन्द्र बजार पुगएका एक बटुवाले धेरै दिन पछि खान खान पाएको बताए ।
सरकारले पुर्व सूचना लगडाउन गरेकोले उनी जस्ता धेरैले सास्ती खेपिरहेका छन् । राजमार्गमा सयौं बटुवा खर्च अभावले भोकभोकै अलपत्र समेत पर्ने गरेका छन् । बिरेन्द्र बजारको खानाको शिबिरको तथ्याङ्क अनुसार दैनिक सयौं पैदल यात्रीहरु हिड्ने गरेका छन् । पैदल यात्रीको पीडा खेपिरहेका कुरा तिनै तहका सरकार र सरोकारवालाहरु बेखबर जस्तै देखिएका छ्न भने कतिपय ठाउँमा स्थानीयबासीले उद्धार गदै आएका छन् ।
गत चैत ११ गते शुरु भएको लकडाउन हालसम्म कायमै छ । लकडाउन लम्बिने भएपछि बाहिर रहेका मजदुर लगायतका सर्वसाधारण आ–आफ्नो गन्तव्यतर्फ पैदलमार्ग भएर जाने गरेका छन् ।