राजविराज, ६ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका प्रदेश नम्बर २ का सचिव एवम् राष्ट्रिय सभाका सदस्य सुमनराज प्याकुरेलले कोरोना भाइरसका कारण गरिएको लकडाउनबाट श्रृजित समस्याबारे मुख्यमन्त्री लगायत विभागीय मन्त्रीहरुसँग कुराकानी गर्दै सुझाव दिएका छन् ।
नेपाल लकडाउनको स्थितिमा रहेको बेला दैनिक ज्याला मजदुरी गरेर खाने व्यक्तिहरुलाई समस्या उत्पन्न भई विभिन्न ठाउँबाट कष्टकर पैदल यात्रा गरी आफ्नो गाउँतिर जाने क्रम भइरहेकोले तिनीहरुको व्यवस्थापनका लागि प्रदेश नम्बर २ का मुख्य मन्त्री र भौतिक निमार्ण तथा योजना मन्त्रीसँग टेलिफोन मार्फत सुझाव दिएका हुन् । मुख्य मन्त्री लालबाबु राउत र भौतिक निर्माण तथा योजना मन्त्री जितेन्द्र सोनलसँग टेलिफोन मार्फत कुरा गरी पैदल यात्रीहरुको जीवन ज्यादै कष्टकर भएको र उनीहरुको व्यवस्थापनका लागि प्रदेश नम्बर २ को पथलैया, बर्दिवास र कोशी व्यारेजमा केन्द्र बिन्दु बनाई पैदल यात्रीहरुलाई खाने व्यवस्था मिलाई, स्वास्थ्य जाँच समेत गरी कुन पालिकाका यात्रुहरु हुन् त्यस पालिकालाई जिम्मा लगाउने व्यवस्था मिलाउन सुझाव दिएका छन् ।
शनिवार बिहान प्रदेश २ का मूख्यमंन्त्री राउत र भौतिक योजना मन्त्री सोनलसँग कोरोना रोकथाम र खासगरी पैदलयात्री असङ्गठित क्षेत्रमा काम गरिरहेका श्रमिकहरूको ब्यवस्थापन, धार्मिक स्थलहरुमा चेकजाँचको बारेमा र कृषि तथा सडक, पूल, सिंचाई जस्ता कार्यहरू लकडाउनको शर्त कायम गर्दै कसरी अगाडी बढाउने भन्ने सवालमा गम्भीर छलफल भएको बताएका छन् । कोरोना भाइरस बारेमा समेत विशेष सतर्कता अपनाएर अगाडि बढ्न समेत सुझाव दिएको प्याकुरेलले जानकारी दिएका छन् ।