राजविराज, ०६ वैशाख । जिल्लाको सिमानासँगै जोडिएको उदयपुरमा शुक्रवार १२ जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएपछि सप्तरीमा पनि त्रास सुरु भएको छ ।
त्रियुगा नगरपालिका वडा नम्वर ३ भुल्केस्थित मस्जिदमा फेला परेका १२ जनै सप्तरीका विभिन्न मस्जिद हुँदै त्यहाँ पुगेको खुलेपछि सप्तरीमा त्रास सुरु भएको हो । सप्तरीको वोदेबर्साइन नगरपालिका वडा नम्वर ५ जाँजरमा गत फागुन ३ देखि ५ सम्म भएको इस्लामिक धार्मिक सम्मेलनमा सहभागी हुन आएका उनीहरु फागुन २५ गते उदयपुरको चौदण्डीगढी नगरपालिका ५ स्थित सिवाई मस्जिद पुगेका थिए । त्यहाँ ५ दिन बसेपछि त्रियुगा नगरपालिका प्रवेश गरेको वडाध्यक्ष देवनारायण चौधरीले बताए ।
त्यसअघि भने गत फागुन २२, २३ र २४ गते सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्वर १ स्थित मस्जिदमा वसेर उनीहरु उदयपुरतर्फ लागेको स्थानीय मोहम्मद मुर्तजाले जानकारी दिए ।
वडा नम्बर ४ वलार्दह र वडा नम्बर २ सिद्धिपुरस्थित मस्जिदमा पनि उनीहरुले करिब एक साता बसेको जनाईएको छ । सप्तरी हुदै उदयपुर पुगेका उनीहरुमा कोरोना पोजेटिभ देखिएपछि सप्तकोसी नगरपालिकामा उच्च सतर्कता अपनाइएको छ ।
नगर प्रमुख उत्तमकुमार गौतमसहितको टोली शुक्रवार राति नै वडा नम्बर १ स्थित मस्जिदमा पुगेर मस्जिद क्षेत्रको मुस्लिम टोललाई सिल गर्ने निर्णय गरिएको छ । सवैलाई घरमै बस्न भनिएको छ भने आरडीटी परीक्षण गर्ने तयारी गरिएको नगर प्रमुख गौतमले जानकारी दिएका छन । उक्त वडामा १ सय ३५ जनाको बसोबास रहेको छ ।