• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीमा मरकजबाट आएका दुई जनामा कोरोना नेगेटिभ

एक साता अघि कोरोना ईन्ट्री भएको हुनसक्छः डा.ः झा
सप्तरीमा मरकजबाट आएका दुई जनामा कोरोना नेगेटिभ

राजविराज, ३ वैशाख । भारतको दिल्ली निजामुद्दीन मरकजको जमातबाट आएका सप्तरीका दुई जनाको स्वाब रिपोर्टमा कोरोना नेगेटिभ आएको छ ।
राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्गलवार राती र्यापिड डाइग्नोस्टिक टेष्ट गर्दा तिलाठी कोइलाडी गाउँपालिका–१ का एक जना र खडक नगरपालिका–११ का एक जनामा कोरोना पोजिटिभ पाईएको थियो । तत्कालै उनीहरुको स्वाब संकलन गरी सुनसरीको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएकोमा उनीहरुसहित जमातबाट आएका सातै जनाको रिपोर्ट नेगेटिभ पाईएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिएका छन् ।
आठ जनाको समूहमा जमातमा सहभागी भएकाहरुमध्ये थप एक जनाको स्वाब समेत बुधबार धरान पठाईएको छ । स्वाब परीक्षण गरिएकाहरु खडक नगरपालिकाका ३ जना, अग्नीसाइर कृष्णासवरण १, विष्णुपुर गाउँपालिका १, तिलाठी कोइलाडी गाउँपालिका १ र सुरुङ्गा नगरपालिका १ जना रहेका थिए ।
दुई साता अघि विभिन्न सिमानाका भएर सप्तरी प्रवेश गरेकाहरुको स्थानीय प्रशासनको सक्रियतामा खोजी गरिएको हो । घरमै बसिरहेको अवस्थामा उनीहरुलाई खोजी गरी अस्पताल पुर्याईएको थियो । र्यायस अघि अस्पतालमा १० जनाको स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ पाईएको थियो ।
एक साता अघि कोरोना इन्ट्री भएको हुनसक्छः डा. झा
गजेन्द्रनारायण सिंह अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. रणजित झाका अनुसार कोभिड–१९ जाँच्न र्यापिड डाइग्नोस्टिक किटले मानव शरीरमा कोरोना भाइरस विरुद्ध लड्ने एन्टीबडी बने–नबनेको जाँच्ने काम मात्र गर्छ । किटले कोभिड–१९ को पहिचान गर्न भने सक्दैन । जब मानिसको शरीरभित्र कोभिड–१९ को भाइरस प्रवेश गर्छ, तब भाइरस मार्न शरीरमा रोग प्रतिरोधी क्षमता सक्रिय हुन थाल्छ । शरीरले भाइरस मार्न एक प्रकारको प्रोटिन विकास गर्न थाल्छ, जुन प्रोटिनलाई नै एन्टीबडी भनिन्छ ।
शरीरमा कोभिड–१९ को भाइरस प्रवेश गरेको करीब ६ दिनपछि मात्र आईजीएम एन्टीबडी बन्न थाल्छ । शरीरमा भाइरस पसेको नौ दिनभएको छ र त्यसै अवधिमा र्यापिड डाइग्नोस्टिक किटबाट परीक्षण गरिँदा संक्रमण हुँदाहुँदै पनि नेगेटिभ रिपोर्ट आउँछ । यो किटले भाइरस प्रवेश गरेको एक हप्ता पछि मात्र रिपोर्ट पोजेटिभ देखाउने गरेको उनले बताए ।
डा. झा भन्छन् ‘राजविराजमा र्यापिड डाइग्नोस्टिक किटबाट गरिएको टेष्ट पोजेटिभ आएको छ भने शरीरमा भाइरस प्रवेश गरेको १० दिन पुगेको छ भने मात्र रिपोर्ट पोजेटिभ आएको हो, यसको अर्थ यो हो कि त्यस्ता व्यक्तिमा कोरोना भाइरस वा त्यस्तै सार्प प्रकृतिका भाइरस प्रवेश गरेर निको भएको पनि हुन सक्छ ।’ आरडिटी रिपोर्ट पोजेटिभ पाईएकोमा पिसिआर जाँचबाट नेगेटिभ आएको छ भने पनि यस्ता व्यक्तिलाई अझैं निगरानी राख्नुपर्ने हुन्छ । यसकासाथै उनको सम्पर्कमा गएका व्यक्तिहरु समेत होम क्वारेन्टाइनमै तीन हप्तासम्म निगरानीमै बस्नुपर्ने हुन्छ ।
उनका अनुसार आईजीजी एन्टीबडी शरीरमा भाइरस प्रवेश गरेको करीब १५ दिनपछि मात्र बन्ने भएकाले त्यसअघि र्यापिड डाइग्नोस्टिक किटले व्यक्ति संक्रमित भए पनि नेगेटिभ नै रिपोर्ट निकाल्छ । संक्रमण भएको व्यक्तिको शरीरले दुई किसिमको एन्टीबडीहरू बनाउँछ । शुरूमा आईजीएम र त्यसपछि बन्ने भनेको आईजीजी बन्ने गर्दछ । आईजीएम रोग लागिसकेपछि ३ देखि ५ दिन अर्थात एक हप्तापछि शरीरमा देखिन थाल्छ यो पनि व्यक्तिपिच्छे फरक हुन सक्छ । यो झन्डै २ वा ३ हप्ता शरीरमा रहन सक्छ । आईजीजी एन्टीबडी शरीरमा भाइरस प्रवेश गरेको करीब १५ दिनपछि मात्र बन्ने भएकाले त्यसअघि र्यापिड डाइग्नोस्टिक किटले व्यक्ति संक्रमित भए पनि नेगेटिभ नै रिपोर्ट निकाल्ने भएकोले यसतर्फ हामी सबै सचेत हुनुपर्ने डा. झाको भनाइ छ । पिसिआर रिपोर्ट पनि शत प्रतिशत ढुक्क हुनसक्ने अवस्था नरहेको उनले बताए ।