• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीको बिरपुरमा प्रहरीबाट त्रसित भई एक वृद्धाको मृत्यु

सप्तरीको बिरपुरमा प्रहरीबाट त्रसित भई एक वृद्धाको मृत्यु

राजविराज, १ वैशाख । सप्तरीको खडक नगरपालिकामा सोमवार लकडाउन पालना गराउने क्रममा खटिएका प्रहरी टोलीबाट त्रसित भई बेहोस भएर एक बृद्धाको ज्यान गएको छ ।
सप्तरीको खडक नगरपालिका वडा नम्वर–६ बिरपुरकी ६५ वर्षिया वृद्धा जैनव खातुन (कुजर्नी)को मृत्यु भएको हो । मृतकका छोरा नसिमले घर अगाडि रहेको ट्रयाक्टर भित्र लग्ने क्रममा प्रहरी टोली आईपुगेको थियो । सोही क्रममा प्रहरीले नसिमलाई लठीले कुट्न लाग्दा मृतक जैनव बचाउन जाँदा सोही क्रममा बेहोस भएर ढलेको जनाईएको छ ।
उनलाई तत्कालै स्थानीय एडभान्स अस्पताल लगिएको थियो । थप उपचारकालागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिने क्रममा बाटोमै मृत्यु भएको छ । मृतक जैनव मुटु र दमको रोगी रहेकोले हृदयघात भएको हुन सक्ने अस्पतालले जनाएको छ ।
यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईले लकडाउन पालना गराउने क्रममा घरबाट बाहिर सडकमा लकडाउन उल्लंघन गरी ६–७ जना बसिरहेको अवस्थामा प्रहरी टोलीले सम्झाउने क्रममा सामान्य वादविबाद उत्पन्न भएको बताए । सोही क्रममा जैनव उच्च रक्तचापका कारण बेहोस भई जमिन ढलेको उनले बताए ।
मृतकको शव राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पोष्टमार्टमकालागि राखिएको छ ।