राजविराज, ३० चैत्र । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण परीक्षण कार्य आइतवारदेखि सप्तरी जिल्लामा समेत शुरु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट र्यापिड डाइग्नोस्टिक टेष्ट किट पठाएपछि राजविराज स्थित गजेन्द्रनारायण अस्पतालमा परीक्षण कार्य शुरु भएको हो । पहिलो दिन अस्पतालमा २ जना र साईकृष्णा मेडिकलको भवनमा रहेको क्वारेन्टाइनमा दुई जना गरी चार जनाको परीक्षण गरिएको छ । चारै जनाको परीक्षण गर्दा नेगेटिभ पाईएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिएका छन् ।
मन्त्रालयले स्वास्थ्य कार्यालय सप्तरीलाई चार सय र गजेन्द्रनारायण सिंह अस्पताललाई एक सय साठी ओटा किट उपलब्ध गराएको छ । जिल्लाको १८ ओटै स्थानीय तहहरुमा रहेका क्वारान्टाइनहरुमा ५ महिला सहित २ सय ३६ जना रहेका छन् । क्वारेन्टाइनमा बसेर १४ दिन पुगेका तथा २१ दिन ननाघेका व्यक्तिको किटमार्फत परीक्षण गरिने डा. दासले जानकारी दिए ।
यसका साथै होम क्वारेन्टाइनमा रहेका १४ दिन पुरा भएका व्यक्तिहरु तथा भारत लगायत विदेशबाट आएकाहरुको समेत अनिवार्य रुपमा परीक्षण गरिने उनले बताए । उनका अनुसार किटबाट परीक्षण गर्दा पोजिटिभ देखिएकाहरुलाई तत्कालै आइसोलेसनमा राखेर स्वाब सङ्कलन गरी परीक्षणकालागि धरान पठाईने छ । किटबाट रगत परीक्षण गर्दा नेगेटिभ पाईएकाहरुलाई पनि थप सात दिन राखेर मात्र घर पठाईने डा. दासले जानकारी दिए ।
उनका अनुसार अस्पतालमा हालसम्म १० जनाको स्वाव परीक्षण गराएको सबैमा कोरोना नेगेटिभ पाईएको छ ।