• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

बनरझुलाका विद्यार्थीको रिपोर्टमा कोरोना नेगेटिभ

बनरझुलाका विद्यार्थीको रिपोर्टमा कोरोना नेगेटिभ

राजविराज, ३० चैत्र । सप्तरीमा एक विद्यार्थीमा कोरोना भाइरस कोभिड–१९ पोजिटिभ पाईएको सूचना गलत रहेको अन्ततः पुष्टि भएको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर–५ बनरझुला निवासी एक विद्यार्थीको स्वाब रिपोर्ट नेगेटिभ आएको हो । गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले दिएको जानकारी अनुसार हनुमाननगरको घरमा बस्दैआएका विद्यार्थीलाई रुघाखोकी तथा ज्वरो आएपछि हनुमाननगर कङ्कालिनी नगरपालिकाका मेयर शैलेश कुमार साहको पहलमा परीक्षणकालागि जनकपुर पठाईएको थियो । उनको स्वाब परीक्षण गर्दा आइतबार प्राप्त रिपोर्ट अनुसार नेगेटिभ पाईएको छ ।
भारतको दिल्लीमा अध्ययनरत विद्याथी गत चैत्र १० गते पैतृक गाउँ बनरझुला आएका थिए । क्वारेन्टाइनमा नगई उनी हनुमाननगर कङ्कालिनी नगरपालिका स्थितको घरमा बस्दैआएका थिए । शुक्रवार उनलाई एम्बुलेन्समा राखेर जनकपुर अस्पताल पठाईएको थियो ।
अस्पतालमा स्वाब संकलन गरी धरानबाट हाल जाँच भईरहेको तथा केही दिनभित्रै राजबिराजमै ल्याब निर्माण भई कोरोना भाइरसको जाँच समेत गरिने जानकारी दिए । कोरोना भाइरससँग सम्वन्धित सूचना प्रवाह गर्दा आधिकारिकतालाई ध्यान पुर्याउन सबैलाई आग्रह गर्दै डा. दासले अझै केही दिन धैर्यधारण गरेर लकडाउनको पालना गर्न आग्रह समेत गरे ।
यता कोरोना भाइरस (कोभिड–१९)को संक्रमण परीक्षण कार्य आइतवारदेखि सप्तरी जिल्लामा समेत शुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट र्यापिड डाइग्नोस्टिक टेष्ट किट पठाएपछि राजविराज स्थित गजेन्द्रनारायण अस्पतालमा परीक्षण कार्य शुरु भएको हो । पहिलो दिन अस्पतालमा २ जना र साईकृष्णा मेडिकलको भवनमा रहेको क्वारेन्टाइनमा दुई जना गरी चार जनाको परीक्षण गरिएको छ । चारै जनाको परीक्षण गर्दा नेगेटिभ पाईएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. दासले जानकारी दिएका छन् ।