राजविराज, २९ चैत्र । करिब तीन साता हुन लागेको लकडाउनका कारण दैनिक ज्याला मजदूरी गर्ने तथा गरिब एवम् विपन्न परिवारकालागि सप्तरीका एक युवा व्यवयासीले थालेको गुप्त राहत सहयोग कार्यक्रम यतिबेला व्यापकता पाउँदै गएको छ ।
राजविराज नगरपालिका वडा नम्वर–६ निवासी चश्मा व्यवसायी शेरु खानले आफै शुरुवात गरेको गुप्त अर्थात गोप्य राहत सहयोग कार्यक्रम प्रभावकारी बन्दै गएको हो । शुरुमा उनले केही व्यक्तिकालागि चामल, दाल, तेल, नुन, आलु लगायतका सामग्रीहरुको प्याकेट बनाएर राजविराज स्थित गजेन्द्र चौकमा राख्ने निधो गरे । ठेला चलाउने, बरफ बेच्ने, चना चटपटी बेच्ने तथा नागरिकता अभावमा कतैबाट राहत नपाएकाहरुलाई लक्षित गरी गजेन्द्र चौकमा राहत प्याकेट राखिदिने तथा जसलाई अति आवश्यक छ त्यो व्यक्तिले स्वयम् एउटा प्याकेट उठाएर लाने व्यवस्था मिलाए । स्थानीय तहहरुले उपलब्ध गराउने भनिएको राहतमा ढिलासुस्ती तथा वास्तविक पीडितले नपाएको भनी गुनासो आएपछि उनले उक्त प्रयास थाले । अहिले राहत वितरण भन्दा फोटो खिंचाउने र प्रचारबाजी गर्ने कार्य हाबी रहेकोले त्यसता कार्यलाई निरुत्साहित गर्दै भोको पेटहरुसम्म खाना पुर्याउने सोचकासाथ आफुले अगाडि बढेको अभियानी शेरुले बताए ।
सामाजिक सञ्जालमा आफुले उक्त विषयमा शेयर गरेपछि युवा अखिलेश देवले गुप्त राहतकालागि आफुले दश हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरे । सोही अनुसार शनिवार विहान शेरुसँगै रुपेशले सामानहरु खरिद गरी १८ ओटा प्याकेट बनाएर गजेन्द्र चौकमा राखे । केही घण्टामै पीडित व्यक्तिहरु आएर खुशी हुँदै उक्त राहत लगेका छन् । नौलो तरिका अपनाएपछि हुने खाने व्यक्तिहरु यस्तो राहत लिन नआउने तथा वास्तविक पीडितहरुसमक्ष पुग्ने भएकोले आफुहरुले यस्तो कार्यलाई निरन्तरता दिँदै शेरुले भने ‘गुप्त राहत उपलब्ध गराउने कार्यमा स्वेच्छा अनुसार सहयोगकालागि सहयोगी मनहरुसँग आग्रह छ, विपतीको अवस्थामा कोही पनि भोको रहनुहुँदैन भन्ने भावना हामी सबैमा हुनुपर्दछ ।’