• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीमा अहिलेसम्म कसैलाई कोरोना पोजिटिव छैनः सरोकारवाला

सप्तरीमा अहिलेसम्म कसैलाई कोरोना पोजिटिव छैनः सरोकारवाला

राजविराज, २९ चैत्र । सप्तरीमा एक विद्यार्थीमा कोरोना भाइरस कोभिड–१९ पोजिटिव पाईएको भनी सूचना गलत रहेको सरोकारवालाहरुले बताएका छन् ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर–५ बनरझुला निवासी एक विद्यार्थीको स्वाब रिपोर्ट पोजिटिभ आएको भनी सूचना गलत रहेको सरोकारवालाहरुले दावी गरेका छन् । स्वास्थ्य कार्यालय सप्तरी राजविराजका प्रमुख दुनियालाल यादवले शनिवार साँझ ७.१५ बजे दिएको जानकारी अनुसार भारतको दिल्लीमा अध्ययनरत विद्याथी गत चैत्र १० गते पैतृक गाउँ बनरझुला आएका थिए । क्वारेन्टाइनमा नगई उनी हनुमाननगर कङ्कालिनी नगरपालिका स्थितको घरमा बस्दैआएका थिए । उनलाई रुघाखोकी हुँदै ज्वरो आएको थाहा पाएपछि हनुमाननगर कङ्कालिनी नगरपालिकाका मेयर शैलेश कुमार साहले उक्त विषयमा आफुहरुसँग सल्लाह गरेको स्वास्थ्य कार्यालय प्रमुख यादवले बताए ।
शुक्रवार उनलाई एम्बुलेन्समा राखेर जनकपुर अस्पताल पठाईएको थियो । अस्पतालमा आज उनको स्वाबको नमूना लिईएको छ । स्वाब परीक्षणको रिपोर्ट आउन समय लाग्ने भएकोले् हालसम्म आधिकारिक रिपोर्ट नआएको उनले ‘न्यूज टुडे’लाई जानकारी दिए । स्वाब काठमाण्डौ पठाईएको भनी हल्ला समेत निराधार रहेकोले उनले आधिकारिक रिपोर्ट नआएसम्म भ्रममा नपर्न तथा उक्त विषयमा आफ्नो निजी धारणा समेत कुनै पनि माध्यमबाट प्रवाह नगर्न स्वास्थ्य सम्वन्धी प्रवक्ता समेत रहेका यादवले आग्रह गरे ।
यसैगरी गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले सप्तरीका कुनै पनि व्यक्तिमा हालसम्म कोरोना पोजिटिव नपाईएको बताए । आफुले उक्त सूचनाको विषयमा त्यहाँका ल्याब प्रमुख तथा मेडिकल सुपरिन्टेन्डन्टसँग जानकारी लिँदा रिपोर्ट आउन केही घण्टा लाग्ने जानकारी पाएको उनले बताए ।
अस्पतालमा स्वाब संकलन गरी धरानबाट हाल जाँच भईरहेको तथा केही दिनभित्रै राजबिराजमै ल्याब निर्माण भई कोरोना भाइरसको जाँच समेत गरिने जानकारी दिए । कोरोना भाइरससँग सम्वन्धित सूचना प्रवाह गर्दा आधिकारिकतालाई ध्यान पुर्याउन सबैलाई आग्रह गर्दै डा. दासले अझै केही दिन धैर्यधारण गरेर लकडाउनको पालना गर्न आग्रह समेत गरे ।