राजविराज, २९ चैत्र । निरन्तरको लकडाउनले गर्दा गरिब, विपन्न एवम् दैनिक ज्याला मजदूरी गरेर गुजारा गर्दै आएका परिवारमा यतिबेला साँझ–विहान हातमुख जोर्ने समस्या भएको छ । कतिपय विपन्न परिवारमा अहिले चुलो समेत बाल्न सक्ने अवस्था छैन । समस्यै समस्याका बिच अत्यन्तै कष्टपूर्ण अवस्था झेल्दैआएका परिवारलाई सप्तरीको रुपनी गाउँपालिका वडा नम्वर–५ फर्निचर व्यवसायीले सहयोगी हात बढाएका छन् ।
लकडाउनमा काठमाण्डौमै फँसेका उनले आफ्ै गाउँठाउँका गरिब, दलित, विपन्न, अशक्त एवम् दैनिक मजदूरीमा आश्रित रहेका परिवारहरुलाई समस्या रहेको जानकारी पाएलगत्तै सहयोग गर्नुपर्छ भनी सोच बनाए । फर्निचर व्यवसायमा संलग्न रहँदैआएका उनले त्यहीबाट गाउँपालिकाका अध्यक्ष हरेराम यादवसँग समन्वय गरी एक लाख रुपैयाँ आफ्ना भाइ विनोद शर्मालाई पठाईदिए । सोही रकमबाट विनोद सय परिवारकालागि चामल १२ किलो, दाल एक किलो, तेल एक लिटर, नुन एक किलो सहितका सामग्रीहरु खरिद गरी प्याकेट बनाए ।
शनिवार गढिया, धुर गाउँ, बसबिट्टी, मुसहर्निया टोलका विपन्न परिवारलाई उक्त राहत सामग्री उपलब्ध गराईएको छ । विन्देश्वरका भाइ विनोदले वस्तीहरुमा पुगेर उक्त राहत सामग्री वितरण गरेका छन् । लकडाउनले दिनचर्या अत्यन्तै कष्टकर बनेको अवस्थामा विन्देश्वरले समाजप्रति सदासयता देखाएकोमा पीडितहरुले खुशी व्यक्त गर्दै धन्यवाद दिएका छन् ।
लकडाउनले गर्दा राहत वितरण कार्यमा आफु काठमाण्डौबाट आउन नसके पनि गरिब एवम् विपन्न वर्गसम्म राहत पुगेकोमा खुशी लागेको दाता विन्देश्वरले बताए । उनले भने ‘विपतको अवस्थामा मैले क्षमताले भ्याएसम्म सहयोग गरें, यस्तै अरु व्यक्तिहरुले समेत यस्तो अवस्थामा सहयोग गर्नुपर्छ ।’ उनी रुपनी गाउँपालिका वडा नम्वर–५ निवासी हुन् ।
