राजविराज, २८ चैत्र । यतिबेला कोरोना भाइरस (कोभिड १९) महामारीको कहर विश्वभरि नै रहेको छ । सिङ्गो विश्वका मानव कोरानासँग लडाई लडिरहेका छन् । जानलेवा महामारीको रुपमा रहेको कोरोना भाइरससँग लडाई लड्ने अग्र मोर्चामा छन् स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र मिडियाकर्मी । श्रोत, साधन र सुविधाको अभावमा अत्यधिक जोखिमपूर्ण अवस्थामा रहेर पनि मानवीय सेवामा जुट्दैआएका योद्धाहरुप्रति सहानुभुति दर्शाउनु स्वाभाविकै हो । यस्तै जोखिमपूर्ण अवस्थामा काम गर्नेहरुलाई सहयोग गरेर उदाहरणीय बनेका राजविराज नगरपालिका वडा नम्वर–६ का युवा शेरु खान ।
कोराना भाइरसको जोखिममा जिम्मेवारी वहन गरिरहेकाहरुलाई कोरोना भाइरसबाट जोगिन गोगल्स (चश्मा) उपलब्ध गराएका छन् । उनले आफै गजेन्द्रनारायण सिंह अस्पतालमा पुगेर अस्पतालमा काम गर्ने चिकित्सक लगायतका स्वास्थ्यकर्मीहरुकालागि सय ओटा गोगल्स अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमन लाल दासलाई हस्तान्तरण गरेका छन् ।
यसैगरी दैनिक रिपोर्टिङ्गमा खटिने पत्रकारहरुकालागि शमा चश्मा घरका प्रोप्राइटर खानले नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादवलाई २५ ओटा चश्मा हस्तान्तरण गरेका छन् । यसैगरी समवेदनशिल स्थानमा खटिने नेपाल प्रहरीहरुकालागि सय थान चश्मा उपलब्ध गराइएको छ । लकडाउनको अवस्थामा आफुहरु घरमा रहेको अवस्थामा जोखिम मोलेर भएर पनि हाम्रैलागि काम गर्नेहरुकालागि केही न केही गर्नुपर्छ भन्ने भावनाले सुरक्षाकालागि चश्मा उपलब्ध गराएको उनले बताए । ‘यस्तो विपद्को अवस्थामा जो जहाँ छ त्यही ठाउँबाट आ–आफ्नो ठाउँबाट जिम्मेवारी बुझ्नुपर्दछ’ उनले भने ‘हाम्रैलागि काम गर्नेहरुलाई सक्दो सहयोग गर्नु मानवीय धर्म हो ।’
सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदैआएका शेरु विगत २५ वर्षदेखि राजविराजमा कुशल चश्मा व्यवसायको रुपमा चिनिन्छन् ।
