राजविराज, २७ चैत्र । सप्तरीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंका गरि विहीबारसम्म २ सय पचास जनालाई क्वारेन्टाइनमा पुरयाइएको छ ।
उनीहरुमाथि निगरानी गर्न १८ वटै स्थानीय तहहरुले सञ्चालन गरेको क्वारेन्टाइनमा राखिएको हो ।
स्वास्थ्य कार्यालय सप्तरीका अनुसार २ सय ४४ पुरुष र ६ जना महिला गरी जम्मा २ सय ५० जनालाई क्वारेन्टाइनमा राखिएको छ । जसमध्ये १ जनालाई डिस्चार्ज गरिएको कार्यालयका प्रमुख दुनीयालाल यादवले जानकारी दिएका छन । ‘अन्य केही व्यक्तिहरुलाई होम क्वारेन्टाइनमा राखिएको छ’ उनले भने–‘बाहिरबाट आएका व्यक्तिहरुमा सामान्य रुघाखोकी तथा ज्वरो जस्ता लक्षण देखिएकाहरुमाथि निगरानी गर्न क्वारेन्टाइनमा राखिएको हो ।’
सप्तरीका स्थानीय तहहरुले बुधवारसम्म ५ सय ८७ शैय्याको क्वारेन्टाइन सञ्चालन गरेको छ । जसअनुसार नगरपालिकातर्फ राजविराज नगरपालिकाले ३ स्थानमा गरी ७०, कञ्चनरुप नगरपालिकाले ५ स्थानमा गरी ७८, डाक्नेश्वरी नगरपालिकाले १२, बोदेबर्साइन नगरपालिकाले २ ठाउँमा गरी ३० शैय्याको क्वारेन्टाइन सञ्चालन गरेको छ ।
यसैगरी, खडक नगरपालिकाले २०, शम्भुनाथ नगरपालिकाले १०, सप्तकोशी नगरपालिकाले २ ठाउँमा गरी ४२, सुरुङ्गा नगरपालिकाले २० र हनुमाननगर कंकालिनी नगरपालिकामा २ स्थानमा गरी ५० शैय्याको क्वारेन्टाइन सञ्चालनमा रहेको छ ।
गाउँपालिकातर्फ भने अग्निसाईर कृष्णासवरन गाउँपालिकामा २४, छिन्नमस्ता गाउँपालिकामा २५, महादेवा गाउँपालिकामा २ स्थानमा गरी ५०, तिलाठी कोइलाडी गाउँपालिकामा २ स्थानमा गरी ५५, रुपनी गाउँपालिकामा ३ स्थानमा गरी ३४ शैय्याको क्वारेन्टाइन सञ्चालन गरेको छ ।
यसैगरी विष्णुपुर गाउँपालिकाले १५, बलान बिहुल गाउँपालिकाले १८, तिरहुत गाउँपालिकाले ४ र राजगढ गाउँपालकाले ३० शैय्या गरी सप्तरीमा कुल ५ सय ८७ शैय्याको क्वारेन्टाइन सञ्चालनमा रहेको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख यादवले जानकारी दिएका छन् ।