राजविराज, २५ चैत्र । खुल्ला सिमानाका कारण भारतको विभिन्न स्थानहरुबाट लुकीछिपी सप्तरी जिल्ला प्रवेश गर्ने क्रम बढेपछि सिमामा थप सुरक्षाकमी परिचालन गरिएको छ ।
जिल्लामा कुल ७८ किलोमिटर खुल्ला सिमानाका कारण भारतको जमात तथा रोजगारीका क्रममा रहेकाहरु भित्रिने क्रम बढेपछि सुरक्षा सतर्कता बढाईएको हो । नेपाल सरकारले लकडाउन घोषणा गर्नु अघि जिल्लामा २५ स्थानमा मात्र बेस क्याम्प एवम् पोष्ट रहेकोमा हाल यो संख्या बढाएर साना–ठूला गरी ५९ स्थानमा सशस्त्र प्रहरी राखेर २४औ घण्टा सतर्कता बढाईएको सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय राजविराजका प्रहरी उपरीक्षक उद्धव न्यौपाने जानकारी दिएका छन् ।
उनका अनुसार जिल्लामा दुई सय भन्दा बढी थप सुरक्षाकर्मी मगाएर परिचालन गरिएको छ । कोरोना भाइरसको जोखिम रहेको अवस्थामा भारतबाट संक्रमित व्यक्ति प्रवेश गर्न सक्ने सम्भावना रहेकोले कडाईका साथ सतर्कता बढाएको प्रहरी उपरीक्षक न्यौपाने बताए । भारतको विभिन्न स्थानहरुबाट आएकाहरुलाई छिर्न नदिन त्यहाँका कमाण्डेन्टसँग समन्वय गरेर त्यहीको क्वारेन्टाइनमा राखिएको उनले जानकारी दिएका छन् ।