
राजविराज, १४ चैत्र । सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालको फिभर क्लिनिकमा जाँच भएकाहरुमध्ये विदेशबाट आएका कोरोनाका शंकास्पद सात जनालाई शुक्रवार क्वारेन्टाइनमा पठाएको छ ।
भारतको मुम्बईबाट गत चैत्र ४ गते घर फर्किएका डाक्नेश्वरी नगरपालिकाका ४ जना, कतारबाट आएका महदेवा गाउँपालिकाका एक जना र कतारबाटै चैत्र ७ गते घर आईपुगेका खडक नगरपालिकाका २ जनालाई क्वारेन्टाइनमा राखिएको हो । उनीहरुलाई फिभर क्लिनिकमा जाँच पश्चात निगरानीमा राख्नकालागि सम्वन्धित स्थानीय तहमा स्थापना गरिएको क्वारेन्टाइनमा पठाईएको गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिएका छन् ।
चैत्र ९ गतेदेखि सञ्चालन गरिएको फिभर क्लिनिकमा हालसम्म ८६ जनाको जाँच गरिएको छ । यता स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार विभिन्न क्वारेन्टाइनमा हालसम्म ७ महिला र ९४ जना पुरुष सहित १०१ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।