• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीमा शंकास्पद ३६ जना क्वारेन्टाइनमा

राजविराज, १२ चैत्र । कोरोना भाइरस (कोभिड–१९) का शंकास्पद व्यक्तिहरुलाई निगरानीमा राख्नकालागि सप्तरी जिल्लाका १८ ओटै स्थानीय तहहरुले आ–आफ्नो श्रोत साधनलाई उपयोग गर्दै क्वारेन्टाइन निर्माण गरेको छ ।
ज्वरो, रुघाखोकी लगायतका लक्षणहरु देखिएमा राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य जाँच गराई सम्वन्धित नगरपालिका तथा गाउँपालिकाहरुमै व्यवस्था गरिएको क्वारेन्टाइनमा शंकास्पद विरामीहरुलाई राख्ने गरिएको छ । जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका स्थित बभनगामा कट्टी स्कुलमा १५ बेडको क्वारेन्टाइन स्थापना गरेको छ । यस्तै बलान बिहुल गाउँपालिकाले समेत बुधबार क्वारेन्टाइनको व्यवस्थापन गरेको छ ।
बलान विहुल गाउँपालिकाले विदेशबाट आउने सर्वसाधारणमाथि निगरानी राख्नकालागि १५ शैय्याको क्वारेन्टाइन कक्ष तयार गरेको छ । गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतका वडा नम्वर १ स्थित हेल्थपोष्टमा १५ शैय्याको क्वारेन्टाइन हाउस तयार अवस्थामा रहेको छ । सोही हेल्थपोष्टका इन्चार्ज नसिम राइनसहित अन्य ४ जना सहयोगी स्वास्थ्यकर्मीहरुको रेखदेखमा क्वारेन्टाइन हाउस सञ्चालनमा ल्याइएको जनाएको छ ।
उता, बोदे बरसाईन नगरपालिकाले पनि विदेशबाट आउने व्यक्तिहरुलाई निगरानीमा राख्न १० शैय्याको क्वारेन्टाइन हाउस तयार अवस्थामा राखेको जनाएको छ । सोही नगरपालिका वडा नम्वर ५ मा रहेको जीवनदिप अस्पताल प्रालिले पनि ५ शैय्याको क्वारेन्टाइन कक्ष तयार गरेको छ । यसैगरी हनुमाननगर कंकालिनी नगरपालिकाले समेत सुविधासम्पन्न क्वारेन्टाइन निर्माण गरेको छ ।
स्वास्थ्य कार्यालय सप्तरीले जानकारी अनुसार राजविराज नगरपालिका स्थित साईकृष्णा मेडिकल ११, डाक्नेश्वरी नगरपालिकाको माध्यमिक विद्यालय पातोमा २, राजगढ गाउँपालिकाको माध्यमिक विद्यालय नर्घामा २, अग्नीसाइर कृष्णासवरण गाउँपालिकाको जनचेतना माध्यमिक विद्यालय घोघिदाहामा १, छिन्नमस्ता गाउँपालिका स्थित चौरसिया धर्मशालामा ९, तिलाठी कोइलाडी गाउँपालिकाको माध्यमिक विद्यालय कट्टीमा २ गरी ३६ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
उक्त क्वारेन्टाइनमा बस्ने, खाने तथा स्वास्थ्य सेवा समेतको व्यवस्था गरिएको स्वास्थ्य कार्यालय प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् । भारतसहित विभिन्न देशहरुबाट आएकाहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेर निगरानी गर्ने गरिएको छ ।