Top_Header_Right_Add

कोरोना भाइरसको संक्रमणबाट बच्न सप्तरीको १६ वटा नाका बन्द

एउटा मात्रै नाका खुल्ला, भारतबाट आउनेलाई १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने
कोरोना भाइरसको संक्रमणबाट बच्न सप्तरीको १६ वटा नाका बन्द

राजविराज, ०९ चैत्र । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्नकालागि सप्तरी प्रशासनले भारतसँग सिमाना जोडिएका १६ वटा नाका बन्द गरेको छ ।
तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर १ स्थित तिलाठी नाकाबाहेक भारतसँग सिमाना जोडिएका सवै नाका बन्द गरिएको हो । ‘कोभिड–१९ संक्रमणबाट जोगिनकालागि १६ वटा नाकाहरु बन्द गरिएको हो’ जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले भने–‘खुल्ला रहेको एउटा नाकामा पनि उच्च सतर्कता अपनाएर स्वास्थ्य जाँच गरी आउजाउ गर्ने व्यवस्था मिलाइएको छ ।’
सो नाका भएर भारतबाट आउने व्यक्तिहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन लागिएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनिलाल यादवले जानकारी दिएका छन । ‘सप्तरीको सिमानासँग जोडिएको विहार राज्यमा भाइरस संक्रमण देखिएसँगै थप सतर्कता अपनाइएको छ’ उनले भने–‘भारतबाट आउने व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन लागिएको हो।’
उनले क्वारेन्टाइनमा राख्नकालागि राजविराजस्थित बन्द अवस्थामा रहेको साईकृष्णा अस्पतालमा ५०/६० वटा शैय्या तयार गर्न लागिएको बताए । ‘भारतबाट आउने व्यक्तिहरुलाई १४ दिनसम्म निगरानीमा राख्ने तथा त्यसपछि अवस्था पहिचान गरेर मात्रै घर फर्काउने वा आइसोलेसन कक्षमा पठाउने तयारी रहेको छ’ उनले भने–‘त्यसकालागि १/२ दिनभित्रै क्वारेन्टाइन कक्ष तयार भईसक्नेछ ।’
५६ वटा आइसोलेशन कक्ष तयार
भाइरसको आशंका रहेका व्यक्तिहरुलाई निगरानीमा राख्नकालागि सप्तरीका ४ वटा अस्पतालमा आइसोलेसन कक्ष तयार अवस्थामा राखिएको छ । ‘आइसोलेसनकालागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा २ वटा कोठामा ६ शैय्या अवस्थामा राखिएको छ’ अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.चुमनलाल दासले भने–‘यसबाहेक ३ वटा अस्पतालमा आइसोलेसन कक्ष तयारी अवस्थामा छ ।’
राजविराजस्थित छिन्नमस्ता अस्पतालमा २० शैय्या, रुपनीस्थित युनिक अस्पतालमा २० तथा क्षेत्रीय प्रहरी अस्पतालमा १० गरी सप्तरीमा आइसोलेसनकालागि ५६ शैय्या तयारी अवस्थामा रहेको मेसु डा.दासले जानकारी दिएका छन । यसबाहेक पनि छिन्नमस्ता अस्पतालमा ८ र युनिक अस्पतालमा ५ गरी १३ वटा आइसीयु सेवा पनि तयार अवस्थामा राखिएको जनाएको छ ।

के हो क्वारेन्टाइन र आइसोलेसन?

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer