राजविराज, १५ पुस । भ्रमण वर्ष सन् २०२० को चौतर्फी तयारी भईरहँदा सप्तरीको राजविराज नगरपालिकाले नियमित फोहोर नउठाएको भन्दै स्थानीय यूवाहरुले आक्रोश व्यक्त गरेका छन् ।
एक सातादेखि फोहोर नउठाएका कारण बजार क्षेत्र दुर्गन्धित हुन थालेपछि युवाहरुले बजारमा थुपारिएका फोहोर संकलन गरी नगरपालिका कार्यालयको मुख्य गेटमै थुपारिदिएका छन् । फोहोर उठाउन पटक–पटक नगरपालिका कार्यालयलाई ध्यानाकर्षण गराउँदा सुनुवाई नभएकोले बाध्य भएर आफुहरुले यस्तो कार्य गरेको यूवा खेलानन्द दासले गरे ।
जनप्रतिनिधि र कर्मचारीले नगरको फोहोर व्यवस्थापनतर्फ ध्यान नपु¥याए नगरभरिको फोहोर कार्यालय अगाडी थुपारेर नगरपालिकालाई डम्पिङ्ग साइटको रुपमा परिणत गरिदिने युवाहरुले चेतावनी समेत दिएका छन् । यत्रतत्र रहेका फोहोर ठेलामा राखेर नगरपालिकाको मुल गेटमै थुपारेर नाराबाजी समेत गरेका छन् । देशैभरि भ्रमण वर्षको तयारी भईरहँदा राजविराज नगरपालिकाका जनप्रतिनिधीहरुले सरसफाईलाई वेवास्ता गरिनुले नगर दुर्गन्धित भई सर्वसाधारणलाई आवत–जावतमा समेत समस्या भएको यूवा दासले बताए ।
नगरपालिकाकी उपमेयर साधना झाले आफुहरुले सरसफाई कार्यलाई प्राथमिकताकासाथ अगाडि बढाएको दावी गर्दै फोहोर उठाउन छुटेका स्थानहरुमा तत्काल सरसफाई गरिने बताईन् ।
