• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

भ्रमण वर्षको पूर्व सन्ध्यामा पर्यटकीय स्थलहरुमा सरसफाई

भ्रमण वर्षको पूर्व सन्ध्यामा पर्यटकीय स्थलहरुमा सरसफाई

राजविराज, १५ पुस । नेपाल भ्रमण २०२० महाअभियानलाई लक्षित गरी सप्तरी जिल्लाका पर्यटकीय गन्तव्यहरुमा पर्यटक भित्र्याउने तयारी थालिएको छ ।
जिल्ला पर्यटन समन्वय समितिद्वारा प्रसिद्ध शक्तिपीठ सखडेश्वरी छिन्नमस्ता भगवती शक्तिपीठमा मङ्गलवार सरसरसफाई गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख समेत रहेका पर्यटन समितिका संयोजक प्रभाकर यादवको नेतृत्वमा सरसफाई गरिएको छ । कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनाल, नेपाल प्रहरीका उपरिक्षक कृष्ण प्रसाइँ, सशस्त्र प्रहरी उपरीक्षक उपरिक्षक उद्घव न्योपाने, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल, सखडेश्वरी छिन्नमस्ता शक्तिपीठका पीठाधीश महाकान्त ठाकुर, वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, पर्यटन समितिका प्रदेश सदस्य अरुण कुमार प्रधान, राजविराज नगरपालिकाका पूर्व मेयर शैलेश कुमार चौधरी, समाजसेवी ई. ईन्द्रनारायण देव, स्वेडेककी अध्यक्ष मीरा देव, भीमदल गणका प्रमुख सेनानी गुप्त बहादुर कुँवर, सशस्त्र प्रहरीे इतिहास विज्ञ डा. पिताम्बर लाल यादव, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, छिन्नमस्ता गाउँपालिकाकी उपाध्यक्ष उषा कुमारी मण्डल, विद्यापति सामाजिक विकास केन्द्रका अध्यक्ष धर्मनाथ यादव, पत्रकार शुभनारायण यादव, गायिका अन्जु यादव लगायतले सरसफाई कार्यक्रममा सहभागिता जनाएका छन् । सरसफाईमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले शक्तिपीठ परिषर तथा आसपास क्षेत्रमा सरसफाई गरेका छन् ।
यसैगरी राजविराज नगरपालिका कर्मचारी एसोसिएसनका अध्यक्ष समेत रहेका उमेश यादवको नेतृत्वमा बारुणयन्त्रको सहयोगमा मन्दिर तथा परिसरको सरसफाई गरिएको छ ।
बाह्य तथा आन्तरिक पर्यटकलाई सहजता प्रदान गर्न तथा स्वागत गर्न पहिलो चरणमा धार्मिक स्थलको सरसफाई र नाका क्षेत्रहरुमा स्वागतद्वारा बनाउने काम भएको नेपाल भ्रमण वर्ष २०२० महाअभियान जिल्ला पर्यटन समन्वय समितिका संयोजक प्रभाकर यादवले जानकारी दिएका छन् । कंकालिनी मन्दिर, राजदेवी मन्दिर, शम्भुनाथ मन्दिर लगायतका एक दर्जन प्रसिद्घ धार्मिक तथा पर्यटकीय स्थलहरुमा सरसफाई गरिएको छ ।
यसैगरी हाम्रा सहकर्मी वृजमान तामाङ्गका अनुसार सप्तरीको हनुमान नगर कंलालिनी नगरपालिका स्थित भारदहको कंकालिनी मन्दिरमा समेत मङ्गलबार सरसफाइ गरिएको छ । समुदाय–प्रहरी कार्यक्रम अन्तर्गत प्रहरी र स्थानीय बासीले संयुक्त रुपमा मन्दिर सरसफाई गरेका छन् ।
बिहान ९ बजे देखि शुरु भएको सरसफाइ कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, संस्थाका प्रतिनिधि र स्थानीय बासी गरि २ सय ५० जनाको सहभागितामा १ घण्टा सम्म सरसफाइ गरेको स्थानीयले जनाएको छ । समुदाय–प्रहरीको संयुक्त टोलीद्वारा मन्दिको वरिपरि र मन्दिर परिसरभित्र पुर्ण रुपले सरसफाइ गरेको जनाएको छ । रन एण्ड फण्ट कार्यक्रम अन्तर्गत ग्रीन र क्लिन सप्तरी बनाउने अभियानका साथ धार्मिक पर्यटकीय स्थलहरुको सरसफाइ गरिएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी मकेन्द्र कुमार मिश्राले जानकारी दिएका छन् ।
सप्तरी जिल्लामा अंग्रेजी सम्वतको पहिलो दिन कंकालिनी मन्दिर, लोहजरा, कोशी व्यारेज, गोलघर, धारापानी, चन्द्रनहर हेडबाँध लगायतका स्थानहरुमा घुमफिर गर्न तथा बनभोज मनाउन हज्जारौंको संख्यामा भारतीय पर्यटकहरु भित्रिने गर्छन् ।