राजविराज, १३ पुस । भारतीय नाकासँग सिमाना जोडिएको सप्तरी जिल्लामा भन्सार छलि गरी चोरी पैठारीसहितका अवैध क्रियाकलापका घटनाहरु वृद्धि भएको छ ।
आइतवार राजविराजमा आयोजित जिल्लास्तरीय नागरिक सुनुवाई कार्यक्रममा प्रस्तुत गरिएको तथ्याङ्क अनुसार सो तथ्य बाहिरिएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रकाश बस्नेतले प्रस्तुत गरेको ५ महिने गतिविधिको प्रगति प्रतिवेदनअनुसार सप्तरीमा भारतबाट चोरी पैठारी गरी नेपालतर्फ भित्र्याइएको ५९ लाखबढी रुपैयाँ बराबरको अवैध मालसमान जफत गरेको छ ।
चोरी पैठारीमा संलग्न २१ जनालाई नियन्त्रणमा लिइएको प्रतिवेदनमा उल्लेख छ । यसैगरी अदालतको फैसला कार्यन्वयन गराउने सन्दर्भमा विभिन्न मुद्दाका फरार ६ तथा अनुसन्धानका क्रममा फरार रहेका १७ गरी २३ जनालाई समेत नियन्त्रणमा लिएको जनाएको छ ।
आर्थिक वर्ष ०७६–०७७ मा विभिन्न अपराधका ३ सय ५७ मुद्दा दर्ता भएकोमा २ सय ५० वटा मुद्दा फछर््यौट भएको छ भने बाँकी १ सय ७ वटा मुद्दा फर्छ्यौट हुने क्रममा रहेको प्रगति विवरणमा उल्लेख छ । आर्थिक वर्ष ०७६–०७७ को ५ महिनाको अवधिमा ३६ महिला, १ पुरुष, २ बालक तथा ३३ बालिका हराएकोमा १६ जनाको उद्घार गरिएको तथ्याङ्कमा छ । कार्यक्रमका सहभागीहरुले अपराध नियन्त्रण र सुरक्षित समाज निर्माणका लागि सवै पक्षको सक्रियता आवश्यक रहेको सुझाव व्यक्त गरेका छन् ।
स्थानिय तहका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, संघ संस्था आवद्ध प्रतिनिधि, अधिकारकर्मी, सञ्चारकर्मी, नागरिक अगुवा लगायतका सरोकारवालाहरुको उपस्थिती रहेको कार्यक्रमका सहभागीहरुले यस्तो सुझाव व्यक्त गरेका हुन् । जिल्ला प्रहरी कार्यालयको आयोजना तथा समग्र जन उत्थान केन्द्र लहानको सहयोगमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका एसपी कृष्ण प्रसाईंले सहभागीहरुबाट आएका सुझावहरुलाई आत्मसाथ गरेर कार्य सम्पादन गर्ने प्रतिवद्धता जनाएका छन् ।
प्रमुख जिल्ला अधिकारी सुनिल खनालको अध्यक्षता तथा जिल्ला समन्वय समितिका संयोजक प्रभाकर यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झा, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, नेपाल पत्रकार महासंघ सप्तरीका सचिव जितेन्द्र झा, महिला अधिकारकर्मी आभासेतु सिंह, नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश यादव, कंचनरुप नगरपालिकाका प्रमुख वसन्त मिश्र लगायतले प्राप्त गुनासा र सुझावलाई आत्मसाथ गरी प्रहरीले अघि बढ्नुपर्नेमा जोड दिए ।
सोही कार्यक्रममा प्रहरीले सञ्चालन गरेको सामुदाय प्रहरी साझेदारी कार्यक्रममा सहयोग गरेको भन्दै सप्तरीका १८ वटै स्थानीय तहका प्रमुखहरुलाई सम्मान समेत गरिएको छ ।
राष्ट्रिय
सप्तरीमा चोरी पैठारीसहितका अवैध क्रियाकलाप बढ्यो
पाँच महिनामा झण्डै ६० लाख रुपैयाँको अवैध मालसमानसहित २३ जना पक्राउ