राजविराज, १३ पुस । सप्तरीको बलान बिहुल गाउँपालिका वडा नम्वर २ स्थित दक्षिणबरिया दिघिया टोलमा आइतवारदेखि विजुली बत्ती बलेको छ ।
गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले औपचारिक रुपमा ट्रान्सफर्मको पूजाआजा गरी विद्युत सुचारु गरेका हुन् । विद्युतिकरणकालागि विगत दुई वर्षदेखि गाउँपालिकाका अध्यक्षसहितका जनप्रतिनिधीहरु प्रयासरत रहँदैआएका थिए । विद्युतिकरण गर्ने क्रममा पोल गाड्न नदिने, पोल उखेलेर फालिदिने, तोडिदिने जस्ता समस्याका कारण उक्त टोलमा विद्युतीकरण कार्य अवरुद्ध रहँदैआएकोमा बल्ल विद्युतीकरण कार्य सफल भएकोमा गाउँपालिका अध्यक्ष गोइतले सम्वद्ध सबै पक्षलाई धन्यवाद दिएका छन् ।
केही विकास विरोधी व्यक्तिका कारण आफुहरुले चाहेर पनि काममा समस्या खेप्दैआएकोमा स्थानीयवासिन्दाहरुबाट पाएको सहयोगले गर्दा गाउँटोलमा विजुली बाल्न सफल भएको उनले बताए । न्यूज टुडेलाई संक्षिप्त प्रतिक्रिया दिँदै गाउँपालिका अध्यक्ष गोइतले भने ‘बाधा अवरोध नभएको भएर बस्तीहरु एकवर्ष अघि नै झलमल्ल भईसकेको हुन्थ्यो, १६ ओटा पोल नै तोडिदिएको अवस्थामा आज हामीले पाएको सफलताले अत्यधिक खुशी छौं ।’
उक्त अवसरमा बोदे बर्साइन विद्युत प्रसारण केन्द्रको प्रमुख प्रदिप शर्मा, स्थानीयवासिन्दा, राजनीतिकर्मी, बुद्धिजिवी, यूवा, पेशाकर्मी लगायत सबै पक्षको उत्साहजनक उपस्थिति थियो । स्थानीयवासिन्दाले गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष, विद्युत प्राधिकरणका प्रमुखसहित जनप्रतिनिधीहरुलाई माला तथा गम्छा लगाएर स्वागत गर्दै खुशियालीमा लड्डु बाँडेका छन् ।